Categories समाचार

मेयर सिंहको नेतृत्वमा वीरगंजमा वृहत वृक्षारोपण, हरियाली सहर निर्माणतर्फ महानगरको पहल

Advertisement

वीरगंज । वीरगंज महानगरपालिकाका नगरप्रमुख मेयर राजेशमान सिंहको नेतृत्वमा वीरगंजमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। सहरलाई हराभरा, स्वच्छ र वातावरणमैत्री बनाउने उद्देश्यका साथ वीरगंज महानगरपालिकाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

वीरगंज भन्सार कार्यालयको मुख्य गेट अगाडि आयोजित कार्यक्रममा मेयर सिंहले स्वयं वृक्षारोपण गर्दै वातावरण संरक्षण आजको समयको अनिवार्य आवश्यकता भएको बताएका छन्। उनले विकाससँगै प्रकृति संरक्षणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै हरियाली प्रवर्द्धन बिना दिगो सहर निर्माण सम्भव नहुने उल्लेख गरे। “भविष्यका पुस्ताका लागि स्वच्छ वातावरण छोड्नु हामी सबैको साझा दायित्व हो,” मेयर सिंहले भने।

Advertisement

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठक, सशस्त्र प्रहरीका डीएसपी पुरुषोत्तम भण्डारी, वीरगंज भन्सार कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद मैनाली, ट्राफिक प्रहरी प्रमुख युवराज कटुवाल, गुननिधि खकुरेललगायतको उपस्थिति रहेको थियो।

Advertisement

साथै महानगरपालिकाका कर्मचारी, सुरक्षाकर्मी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

वक्ताहरूले बढ्दो वातावरणीय प्रदूषण, जलवायु परिवर्तन र सहरमा हरियालीको कमीप्रति चिन्ता व्यक्त गर्दै महानगरपालिकाको अगुवाइमा सञ्चालन गरिएको यस्तो वृक्षारोपण अभियानले सहरको सौन्दर्य वृद्धि गर्नुका साथै नागरिकको स्वास्थ्य र जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने बताए।

कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपण गरिनुका साथै ती बिरुवाको संरक्षण, हेरचाह र दीर्घकालीन व्यवस्थापनमा महानगरपालिका र स्थानीय समुदायले संयुक्त जिम्मेवारी लिने प्रतिबद्धता व्यक्त गरिएको थियो।

कार्यक्रमको अन्त्यमा वीरगंज महानगरपालिकाले हरियाली सहर निर्माण अभियानलाई निरन्तरता दिँदै आगामी दिनमा पनि वृक्षारोपण तथा अन्य वातावरणमैत्री कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *