अनिल गुप्ता
वीरगञ्ज । “स्वस्थ परिवारको लागि स्वच्छ तेल” भन्ने नारासहित बजारमा बिक्री हुँदै आएको ‘फेमिली’ ब्रान्डको तोरीको तेल को तौलमा गम्भीर अन्तर फेला परेको तथ्य सार्वजनिक भएको छ ।
प्याकेजमा NET CONTENTS 500 ml (455 ग्राम) (३० डिग्री सेल्सियस तापक्रममा प्याक गर्दा) उल्लेख गरिएको भए पनि बजारमा उपलब्ध प्याकेजहरू तौल गर्दा केवल ४०६ ग्राम मात्र भेटिएको छ । यसले प्याकेजमा उल्लेख गरिएको तौल र वास्तविक तौलबीच ठूलो अन्तर देखाएको छ ।
उक्त तेल श्री शिव शक्ति घ्यू उद्योग प्रा. लि., जीतपुर, बारा, नेपालद्वारा उत्पादन हुँदै आएको हो । तर लेबलमा उल्लेखित तौलअनुसार तेल नपाउँदा उपभोक्ताहरू आर्थिक रूपमा मारमा परेको गुनासो बढ्दै गएको छ ।
उपभोक्ता अधिकारकर्मीहरूका अनुसार यस्तो अवस्था उपभोक्ता संरक्षण ऐनको उल्लंघन हुन सक्ने भन्दै सम्बन्धित निकायले तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग गरेका छन् ।
यता उद्योग पक्षबाट भने यस विषयमा हालसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरिएको छैन । उपभोक्ताहरूले बजार अनुगमनलाई प्रभावकारी बनाउन र यस्ता अनियमिततामाथि कडा कदम चाल्न सरोकारवाला निकायसँग आग्रह गरेका छन् ।






