Categories पत्रपत्रिका

न नाम, न ठेगाना : प्रेमजालमा फसाएर भारत पुर्‍याइँदै नेपाली नवयुवती

Advertisement

वीरगन्ज । ‘न लाने मान्छेको नाम, न जाने ठाउँको ठेगाना—केही थाहा छैन’ तर प्रेमी भेट्न र साथमै सीमा कट्न थालेका नेपाली नवयुवतीहरूको कारुणिक तथ्य बाहिरिएको छ । लभ (माया–प्रेम) मा परी भारततर्फ जानेहरू यस्ता पनि हुन्छन् र भन्ने अवस्था देखिएको छ । धरातलीय यथार्थ यस्तै खुलेको छ ।

नेपाली नवयुवतीहरू यसरी ‘बेसुरेतालले हिँड्ने’ एक–दुई जना मात्र रहेनछन् । सामाजिक सञ्जालबाट भारतीय युवकसँग ‘लभ’ गरेको लहै–लहैमा एक वर्षमै लाने व्यक्ति र जाने ठाउँको जानकारीविनै भारत जाने भन्दै २४ जना नवयुवती वीरगन्ज नाकासम्म आइपुगेको पाइएको हो ।

Advertisement

भारतका विभिन्न कोठीमा पुगी यौनलगायत शोषणमा पर्दै नारकीय जीवन बिताउने घटनामा कोही नपरुन् भनी ३३ वर्षदेखि सामाजिक कार्य गर्दै सीमानााकामा पनि खटिएको संस्था माइती नेपालको एक वर्षे तथ्याङ्कले यो पुष्टि गरेको छ ।

Advertisement

वीरगन्ज नाकाबाट सन् २०२५ मा उद्धार गरिएका कुल १ सय ६३ जनामध्ये अधिकांश सामाजिक सञ्जाल प्रयोग गर्दा प्रेमजालमा परी अभिभावक तथा घर–परिवार त्यागेर हिँडेका युवतीहरू रहेको माइती नेपाल वीरगन्ज शाखा प्रमुख एवं सुपरिवेक्षक गोमा पौडेलले बताइन् ।

दलालका लागि सामाजिक सञ्जाल राम्रो जाल

सामाजिक सञ्जालबाट भारतीय प्रेमीको मायाजालमा परी लहै–लहैमा हिँडेका २४ नवयुवतीहरूले लाने व्यक्तिको नाम र जाने ठाउँको ठेगाना भन्नै सकेनन् । तीबाहेक सामाजिक सञ्जालबाटै मायाजालमा परी भागेर वा अभिभावकको समेत स्वीकृतिमा अञ्जानमा जानेको सङ्ख्या ३६ रहेको माइती नेपालको आइतबार सार्वजनिक वार्षिक तथ्याङ्कले देखाएको छ ।

यथार्थ बुझेर मात्र सही कार्यमा लागुन्, अज्ञानतावश नेपाली युवतीहरू भारतमा पुगी विभिन्न हिंसा, यौन शोषण र अन्यायको चपेटामा नपरून् भनी माइती नेपालले वीरगन्ज नाकामा निगरानी गर्दै आएको छ । परिस्थिति नबुझी नेटवर्किङ कम्पनीमा काम गर्न भन्दै जानेहरूको सङ्ख्या पनि उद्धार गरिएकामध्ये ठुलो रहेको माइती नेपाल आवधिक गृहकी मनीषा गौतमले बताइन् । गएको एक वर्षमा नेटवर्किङ कम्पनीमा काम गर्न भनी अञ्जानमा हिँडेका ३२ युवतीलाई माइती नेपालले उद्धार गरेको पाइएको छ ।

सञ्जालले नवयुवती अञ्जानमै बढी फस्दै

मुलुकको प्रमुख सीमा नाका वीरगन्जबाट उद्धार गरिएकामध्ये सबैभन्दा बढी सामाजिक सञ्जाल प्रयोग गरी प्रेमजालमा फसेर घर–परिवारलाई थाहै नदिई भागेकाहरू रहेको माइती नेपालले जनाएको छ । विभिन्न प्रलोभनमा पारी नेपाली युवतीलाई लैजान खोज्ने दलालहरूले कतिपय अवस्थामा अभिभावकलाई समेत प्रभावमा पारी सीमा नाका कटाउन लगाउनेसम्मको खेल खेल्ने गरेको माइती नेपाल वीरगन्जकी सुपरिवेक्षक पौडेलको भनाइ छ । ‘त्यसो गर्दा अभिभावकलाई आउने–जाने खर्चसमेत उनीहरूले दिने गरेको भेटिएको छ,’ उनले भनिन् ।

भारतीय आर्केस्ट्रालगायतबाट उद्धार गरिएकाहरूको भनाइले नेपाली युवतीहरू उता गएपछि राम्रो काम पाउन नसक्ने गरेको तथ्य पनि खुलासा भएको छ । माइती नेपाल वीरगन्जले पनि यसको पुष्टि गरेको छ ।

माइती नेपालको एक वर्षे तथ्याङ्क

वीरगन्ज नाकाबाट उद्धार गरिएका १ सय ६३ जनामध्ये सबैभन्दा बढी सानै उमेरमा भाग्ने अर्थात् ३६ जना रहेका छन् । सानै उमेरमा प्रेमजालमा परी भाग्नेपछि भारतको पटना स्थित ‘वी विनर’ नेटवर्किङमा काम गर्ने भन्दै अञ्जानमा हिँडेका ३२ जना रहेका छन् । त्यसैगरी, आफू जाने ठाउँको नाम र ठेगाना केही थाहा नपाई हिँडेका २४ जना, सामान किन्न जाने बहानामा १७ जना, काम गर्न जाने बहानाका ६ जना, आर्केस्ट्रामा जाने ६ जना, आफन्त भेट्न जाने बहानाका ४ जना, औषधि किन्न जाने भन्ने २ जना, तेस्रो मुलुक जाने १ जना र भारतकै पनि २ जना गरी कुल १ सय ३० जनालाई माइती नेपालले उद्धार गरी आवधिक गृहसम्म ल्याएको पाइएको छ । ३३ जनालाई भने आवधिक गृहमा नल्याई नाकाबाटै आफन्त वा अभिभावकको जिम्मा लगाइएको माइती नेपालले जनाएको छ ।

माइती नेपालले उद्धार गरेका मध्ये ४० जना १८ वर्षमुनिका रहेको माइती नेपाल वीरगन्ज शाखा प्रमुख खड्काले बताइन् । बाँकी १ सय २३ जना १९ वर्षभन्दा माथिका रहेको उनको भनाइ छ ।

पाँच वर्षमा ७ सय ९९ जनाको उद्धार

माइती नेपालले सन् २०२१ देखि २०२५ सम्म यस नाकाबाट मात्र ७ सय ९९ जना नेपाली महिला तथा युवतीलाई गलत कार्यमा फस्नबाट बचाएको तथ्याङ्कले देखाएको छ । सन् २०२१ मा १ सय ४३ जना, २०२२ मा १ सय ६६ जना, २०२३ मा १ सय ९२ जना, २०२४ मा १ सय ३५ जना र २०२५ मा १ सय ६३ जना उद्धार गरिएको माइती नेपालकी अनिशा गौतमले बताइन् ।

नेपाली बालबालिका तथा महिलाहरू अनाहकमा भारत तथा तेस्रो मुलुकमा नफसून् भनी माइती नेपालले सीमा क्षेत्रमा कडाइका साथै प्रत्यक्ष–अप्रत्यक्ष रूपमा २२ हजार ५ सय जनालाई सचेतनाका लागि जानकारी दिएको एक वर्षे तथ्याङ्कले देखाएको छ । त्यसैगरी, विभिन्न कार्यक्रममार्फत २ हजार ७ सय ७४ जना लाभान्वित भएको, २ हजार ३ सय ५३ जनालाई सचेतना पत्र वितरण गरिएको, सीमा क्षेत्रमा २० हजार २ सय ३१ सवारी साधन रोकी जाँच गरिएको र ३१ जनालाई स्वास्थ्य उपचारसमेत गरिएको तथ्याङ्कले देखाएको छ । आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *