वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको ६ लाख ७१ हजार ९ सय ५० रुपैयाँ बराबरको हुण्डी रकमसहित तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार विशेष सूचनाको आधारमा गत पुस १४ गते खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १० स्थित मकालु चोक क्षेत्रबाट हुण्डी कारोबारमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारत बिहार राज्य बेतिया जिल्ला बैरिया थाना वडा नम्बर ८ मथौली घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छप्कैयामा बस्दै आएका ५० वर्षीय अनवर मिया, उनका २२ वर्षीय छोरा महमद कैफ अहमद तथा भारत बिहार राज्य मोतिहारी जिल्ला दरपा थाना गम्हरियाकला गाउँ पञ्चायत वडा नम्बर ३ का ४८ वर्षीय फूल महमद रहेका छन्।
प्रहरीले अनवर मिया र महमद कैफ अहमद सवार BR 22 H 6338 नम्बरको भारतीय मोटरसाइकलबाट क्रमशः १ लाख ३० हजार ९ सय ५० रुपैयाँ र ३ लाख रुपैयाँ बरामद गरेको जनाएको छ। यस्तै, Lu 41 Pa 6897 नम्बरको मोटरसाइकलमा सवार फूल महमदको साथबाट २ लाख ४१ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
बरामद रकमको स्रोत खुल्न नसकेको र हुण्डी कारोबारमा संलग्न रहेको पुष्टि भएपछि उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) अनुसार कसूरमा पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।






