वीरगंज । पोखराको लिचीबारी जग्गा भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री राजकुमार गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश आएको छ। अदालतको उक्त आदेशपछि गुप्ताले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमा लेख्दै गुप्ताले सोही प्रकरणमा संलग्न अन्य दुई जनालाई धरौटीमा छाडिएको तर आफूलाई मात्र थुनामा राख्ने आदेश हुनु कानुन सबैका लागि समान हुन्छ भन्ने सिद्धान्तविपरीत भएको उल्लेख गरेका छन्। यसले न्याय प्रणालीमाथि गम्भीर प्रश्न उठाएको उनको भनाइ छ।
उनले आफूविरुद्ध उठाइएको मुद्दाभन्दा बढी यस घटनामा राजनीतिक प्रतिशोध र सरकारी हस्तक्षेप स्पष्ट देखिएको आरोप लगाएका छन्। सरकारलाई आफ्नो राजनीतिक हैसियत र जनसमर्थनबाट डर लागेको दाबी गर्दै उनले आफूले जितेको निर्वाचन क्षेत्र पुनः जित्ने विश्वास र त्यसले नेकपा एमालेको जित सुनिश्चित हुने डरका कारण आफूलाई लक्षित गरी यस्तो कदम चालिएको बताएका छन्।
“सत्य दबाएर, न्यायलाई मोडेर र विपक्षी आवाजलाई थुनामा राख्ने प्रयास दीर्घकालसम्म टिक्दैन,” गुप्ताले सामाजिक सञ्जालमा लेखेका छन्।
पूर्वमन्त्री गुप्ताले न्यायप्रति विश्वास र जनताप्रति भरोसा कायम रहेको उल्लेख गर्दै अन्ततः सत्यकै जित हुनेमा आफू अडिग रहेको बताएका छन्। जनताको मत र समर्थन नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै उनले संघर्षबाट नडराउने र अन्यायसँग नझुक्ने स्पष्ट पारेका छन्।






