वीरगंज । वीरगंज–९ स्थित जिल्ला प्रशासन कार्यालय नजिकै रहेको ब्राइट +२ कलेजले कक्षा १२ का विद्यार्थीहरुको आयोजनामा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरेको छ।
होटल भिष्वामा संस्कारपूर्ण शैलीमा सम्पन्न सो स्वागत कार्यक्रममा विद्यार्थीहरुबीच आपसी सद्भाव र मित्रता प्रवर्द्धन गर्ने उद्देश्यका साथै कार्यक्रमलाई अझ रमाइलो बनाउने उद्देश्यले गीत, नृत्य र अन्य सांगीतिक प्रस्तुतिहरु समेत समावेश गरिएको थियो।
स्वागत कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल प्रमुख अतिथि थिए भने प्रहरी नायब उपरीक्षक राजु कार्की, मानवसेवा आश्रमका देवेश मानवसेवा र शरण गुप्ता विशिष्ट अतिथिको रूपमा उपस्थित थिए।
कलेजका संस्थापक मुकेश गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका शिक्षक, शिक्षिका, विभिन्न संस्था प्रतिनिधि र सञ्चारकर्मीहरुको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरुले कलेजले छोटो अवधिमा शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको र विद्यार्थी तथा अभिभावक माझ लोकप्रियता हासिल गरेको बताएका थिए।
कलेजका संस्थापक गुप्ताले नयाँ विद्यार्थीहरुलाई स्वागत गर्दै सकारात्मक वातावरणमा अध्ययन गर्न प्रेरित गर्दै भने, “हामीले यस कलेजमा विद्यार्थीहरुलाई ज्ञानसँगै संस्कार र सिर्जनात्मक गतिविधिमा सहभागी गराउने वातावरण तयार पार्न ध्यान दिन्छौं।
कार्यक्रमले विद्यार्थीहरुलाई आत्मविश्वास र आपसी सद्भावका साथ भविष्यका लागि तयार पार्ने उद्देश्य राखेको कलेजका अखिल पटेलले जानकारी गराए ।







