Categories समाचार

ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई १० मिटर घिसारेर फरार भएका चालक चितवनबाट पक्राउ

हेटौडा । ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई करिब १० मिटरसम्म घिसारेर गम्भीर घाइते बनाई फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ।

०८२/०९/१७ गते साँझ करिब ७:४५ बजे मकवानपुरको हेटौडा–११ थानाभर्‍याङस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट चेकिङ ड्युटीमा खटिएको प्रहरी टोलीले सवारी साधन रोकी चेकजाँच गरिरहेको थियो।

Advertisement

सो क्रममा नवलपुरतर्फबाट हेटौडा बजारतर्फ आउँदै गरेको नम्बर नखुलेको कारका चालकलाई मादक पदार्थ सेवन (मा.प.से.) परीक्षणका लागि ब्रेथलाइजर मेसिन प्रयोग गर्न खोज्दा चालकले एक्कासी कारको सिसा बन्द गरी तीव्र गतिमा भाग्ने प्रयास गरेका थिए।

Advertisement

भाग्ने क्रममा चालकले ड्युटीमा रहेका एक ट्राफिक प्रहरी जवानलाई करिब १० मिटरसम्म घिसार्दा ती प्रहरी गम्भीर घाइते भएका थिए। घटनापछि फरार चालक तथा सवारी साधनको खोजतलास गर्ने क्रममा ०८२/०९/१८ गते चितवनको भरतपुरबाट बा ६ च ८४०९ नम्बरको कारसहित चालकलाई पक्राउ गरिएको हो।

पक्राउ पर्ने चालक जिल्ला मकवानपुर, हेटौडा–५ निवासी ४६ वर्षीय बासुदेव आचार्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कारबाट घटनास्थलमै प्रयोग गरिएको ब्रेथलाइजर मेसिन समेत बरामद गरिएको छ।

घटनामा गम्भीर घाइते भएका ट्राफिक प्रहरीको उपचार भइरहेको छ भने पक्राउ परेका चालकलाई नियन्त्रणमा लिई यस कार्यालयमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *