वीरगंज । सामाजिक सञ्जाल टिकटकमार्फत धार्मिक अफवाह फैलाउने तथा समुदाय लक्षित गालीगलौज गरेको आरोपमा धनुषा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ। साथै टिकटक भिडियोको विषयलाई लिएर मस्जिदमा तोडफोड तथा धार्मिक ग्रन्थ जलाएको घटनामा संलग्न एक जनालाई पनि नियन्त्रणमा लिइएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार टिकटकमा आपत्तिजनक भिडियो बनाई पोस्ट गरी धार्मिक सद्भाव खलल पुर्याउने कार्यमा संलग्न कमला नगरपालिका–६ निवासी १९ वर्षीय हैदर अंसारी र १९ वर्षीय अमानत अंसारीलाई नियन्त्रणमा लिइएको हो। उनीहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १५६ बमोजिम धर्मसम्बन्धी कसुरमा जिल्ला अदालत धनुषाबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, टिकटकमा पोस्ट गरिएको उक्त भिडियोको विषयलाई लिएर कमला नगरपालिका–६ को सखुवा टोलस्थित मस्जिदमा तोडफोड गरी कागजात निकाल्ने र धार्मिक ग्रन्थ जलाउने घटनामा संलग्न २५ वर्षीय कपिल भन्ने राम प्रताप साहलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १५५ अनुसार धर्मसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।
घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाले टिकटक, फेसबुक, ह्वाट्सएप लगायत सामाजिक सञ्जालमा कसैको धार्मिक आस्थामा चोट पुग्ने किसिमका स्टाटस, अडियो वा भिडियो पोस्ट गर्ने, लाइक, सेयर वा कमेन्ट गर्ने कार्य गरेमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ।
साथै धनुषा जिल्लामा सामाजिक सद्भाव, शान्ति र अमनचयन कायम राख्न सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधि, सञ्चारकर्मी, धार्मिक अगुवा, अधिकारकर्मी, नागरिक समाज तथा सर्वसाधारणलाई जिम्मेवार भूमिका निर्वाह गर्न जिल्ला प्रहरी कार्यालय धनुषाले अनुरोध गरेको छ।






