वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले पर्सा जिल्लामा मुस्लिम समुदायले गरेको विरोध प्रदर्शनका विषयमा प्रकाशित तथा प्रसारित केही समाचारहरू अतिरञ्जित र भ्रमपूर्ण रहेको स्पष्ट पारेको छ।
प्रहरी कार्यालयद्वारा सोमबार जारी प्रेस विज्ञप्तिअनुसार हिजो (आइतबार) पर्सा जिल्लास्थित मुस्लिम समुदायका दाजुभाइहरूले धनुषा जिल्लामा घटेको घटनालाई लिएर शान्तिपूर्ण विरोध प्रदर्शन गरेका थिए। उक्त विरोध प्रदर्शनका सन्दर्भमा केही सञ्चार माध्यमहरूमा प्रकाशित तथा प्रसारित समाचारहरू वास्तविकताभन्दा फरक र भ्रम सिर्जना गर्ने खालका रहेको जनाइएको छ।
प्रेस विज्ञप्तिमा उल्लेख गरिएअनुसार ती समाचारहरू जिल्ला प्रहरी कार्यालय पर्साको आधिकारिक धारणा नभएको स्पष्ट गरिएको छ। विरोध प्रदर्शनको क्रममा प्रहरीले कानुनबमोजिम आफ्नो कर्तव्य निर्वाह गरेको र सो अवसरमा कुनै पनि सार्वजनिक वा निजी सम्पत्तिमा क्षति–नोक्सानी नभएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न प्रहरी सधैं प्रतिबद्ध रहेकोसमेत प्रहरी नायब उपरीक्षक तथा प्रहरी प्रवक्ता/सूचना अधिकारी राजु कार्कीले जानकारी दिएका हुन्।







