वीरगञ्ज । पछिल्लो समय वीरगञ्जलगायतका स्थानमा विभिन्न धार्मिक समुदायले आयोजना गरेका प्रदर्शनका क्रममा समाचार संकलनमा खटिएका सञ्चारकर्मीहरूमाथि आक्रमण तथा दुर्व्यवहारका घटना बढ्दै गएकोप्रति नेपाल पत्रकार महासंघ पर्सा शाखाले गम्भीर ध्यानाकर्षण जनाएको छ।
महासंघका अनुसार सोमबार प्रदर्शनको दृश्य खिचिरहेका भोजपुरी टाइम्स दैनिकका कार्यकारी सम्पादक श्रवण साहमाथि प्रदर्शनकारीले मोबाइल खोसी आक्रमण गरेको घटना निन्दनीय छ। समाचार संकलनमा खटिएका पत्रकारमाथि गरिएको आक्रमण र अवरोध प्रेस स्वतन्त्रता तथा नागरिकको सुसूचित हुन पाउने अधिकारमाथिको गम्भीर उल्लङ्घन भएको महासंघको ठहर छ।
महासंघले स्वतन्त्र प्रेसविरोधी गतिविधि नगर्न प्रदर्शनकारीलाई सचेत गराउँदै पत्रकारमाथि आक्रमण गर्ने दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन जोडदार माग गरेको छ।
यसैबीच, धार्मिक समुदायसँग सम्बन्धित प्रदर्शनका समाचार सामग्री प्रसारण र प्रकाशन गर्दा संयमता र सावधानी अपनाउन महासंघले आम सञ्चारकर्मीलाई अपिल गरेको छ। पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७६) ले विभिन्न जात, धर्म, सम्प्रदाय, भाषा र संस्कृतिबीचको सुसम्बन्ध तथा सामाजिक सद्भावमा खलल पुर्याउने सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्न नपाइने स्पष्ट व्यवस्था गरेको स्मरण गराइएको छ।
महासंघका अनुसार केही सञ्चारकर्मीले आचारसंहिता उल्लङ्घन गरी सामग्री प्रकाशन र प्रसारण गरेको पाइएकाले यस विषयलाई सूक्ष्म रूपमा नियालिरहेको छ। विशेषतः लाइभ प्रसारणमा आएका कतिपय अभिव्यक्तिले सम्प्रदायबीचको सद्भावमा प्रतिकूल असर पार्न सक्ने देखिएको महासंघको भनाइ छ।
पत्रकार आचारसंहिताविपरीतका सामग्रीप्रति सचेत रहँदै व्यावसायिक धर्म र जिम्मेवारी निर्वाह गर्न महासंघले आग्रह गरेको छ। साथै, संवैधानिक अधिकार प्रयोग गर्दा धार्मिक तथा साम्प्रदायिक सद्भावमा असर नपर्ने गरी अभिव्यक्ति दिन, प्रेस स्वतन्त्रताको सम्मान गर्दै भय र असुरक्षारहित वातावरणमा समाचार सम्प्रेषण सुनिश्चित गर्न तथा शान्ति, सद्भाव र सुरक्षाका लागि आवश्यक विधि र प्रक्रिया अपनाउन सरोकारवाला सबै पक्षलाई महासंघले अपिल गरेको छ।






