वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारीले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज साँझ ६ बजेबाट भोलि पुस २२ गते बिहान ८ बजेसम्म लागू हुने गरी कर्फ्यू आदेश जारी गरेका हुन्।
कर्फ्यू आदेशअनुसार तोकिएको चार किल्लाभित्र आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ। कर्फ्यू लागू हुने सीमा पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सिया पुल, उत्तरी सीमा पावर हाउस चोक र दक्षिणतर्फ शंकराचार्य गेट तोकिएको छ।
प्रशासनले कर्फ्यू अवधिभर अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन नागरिकलाई आग्रह गरेको छ। अपरिहार्य अवस्थामा बाहिर निस्कनु परे नजिकको सुरक्षाकर्मीसँग समन्वय गर्न वा १०० नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ। कर्फ्यू उल्लङ्घन गरेमा सुरक्षाकर्मीले कडा कारबाही गर्न सक्ने चेतावनी पनि दिइएको छ।
यद्यपि कर्फ्यू अवधिभर अत्यावश्यक सेवाअन्तर्गत एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधन तथा हवाई टिकटको आधारमा यात्रा गर्ने हवाई यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीबाट सहजीकरण गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।







