Categories समाचार

‘गाउँ मन्थन’ देखि शहरसम्म संवाद : वीरगञ्जमा मधेश साहित्य महोत्सव २०२६ को तयारी तीव्र

Advertisement

वीरगञ्ज । मधेशको आत्मा, गाउँको आवाज र नयाँ पुस्ताको सोचलाई एउटै मञ्चमा ल्याउने लक्ष्यसहित आयोजना हुन लागेको मधेश साहित्य महोत्सव २०२६ ले यसपालि फरक ऊर्जा र दृष्टिकोणका साथ तयारी अघि बढाएको छ।

आगामी माघ १५, १६ र १७ गते वीरगञ्जमा हुने महोत्सवको दोस्रो संस्करणलाई केवल साहित्यिक कार्यक्रम नभई सामाजिक बहस र सांस्कृतिक उत्सवका रूपमा स्थापित गर्ने उद्देश्यले आज सरोकारवाला र नागरिक समाजबीच गहन छलफल गरिएको छ।

Advertisement

उत्कर्ष नेपालको आयोजनामा सम्पन्न छलफल संस्थाका अध्यक्ष ऋतुराजको अध्यक्षतामा खुलेको संवाद र सामूहिक सहभागिताको उदाहरण बनेको सहभागीहरूको भनाइ थियो। छलफलमा महोत्सव आयोजक समूहकी सलमा खातुनले यस वर्षको मूल विषय ‘गाउँ मन्थन’ रहेको जानकारी दिँदै, गाउँको जीवन, संघर्ष, संस्कार र सम्भावनालाई साहित्य, संवाद र प्रस्तुतिमार्फत शहरसम्म ल्याउने प्रयास गरिने बताइन्। उनका अनुसार यसपालि महोत्सवले मधेशका भित्री कथालाई केन्द्रमा राख्दै सबै समुदाय र पुस्तालाई जोड्नेछ।

Advertisement

कार्यक्रमको अवधारणाबारे बोल्दै उत्कर्ष नेपालका जय साहले मधेश साहित्य महोत्सव भाषा र साहित्यमा सीमित नरही सामाजिक चेतना र सांस्कृतिक पुनर्जागरणको अभियानका रूपमा अघि बढिरहेको बताए। “साहित्यले समाजलाई जोड्छ, संवादले समाजलाई बदल्छ,” भन्दै उनले महोत्सवले पहिचान, समावेशिता र सहअस्तित्वका विषयलाई प्राथमिकतामा राख्ने स्पष्ट पारे।

सहभागीहरूले प्यानल छलफलमा ग्रामीण जीवन, भाषा संकट, स्थानीय पहिचान, युवाको भूमिका र सामाजिक रूपान्तरणजस्ता विषय समेटिनुपर्ने सुझाव दिएका छन्। साथै, तराई–मधेशमा विवाह तथा संस्कारमा गाइने लोकगीत, स्थानीय खानाका परिकार, हस्तकला र उत्पादनलाई स्टलमार्फत प्रस्तुत गर्दा महोत्सव केवल सुन्ने होइन, अनुभव गर्ने उत्सव बन्ने धारणा राखिएको छ।

यसैक्रममा, महोत्सवमा समावेश हुने सिर्जनाहरू छनोट गर्न माघ ३ गते ‘ट्यालेन्ट हन्ट’ आयोजना गरिने जानकारी दिँदै जय साहले यसबाट नयाँ लेखक, कवि र सिर्जनशील युवालाई राष्ट्रिय मञ्चमा ल्याउने अवसर सिर्जना हुने बताए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *