बारा । युवा नेता तथा समाजसेवी विनय कुमार गुप्ता बारा क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा निर्वाचनका लागि जनभावनाअनुसार उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वसँग आग्रह गर्दै राजनीतिक बहसको केन्द्रमा उभिएका छन्।
वि.सं. २०५१ सालमा बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ मा साधारण ग्रामीण परिवारमा जन्मिएका गुप्ताले युवावस्थामै व्यापारमार्फत आत्मनिर्भर बनेका उनले सफलतासँगै आफ्नो समय, शक्ति र स्रोत समाजसेवामा समर्पित गर्दै आएका छन्। “पैसा साधन हो, लक्ष्य होइन” भन्ने सोच उनका काम र जीवनशैलीमा प्रष्ट देखिन्छ।
भोलेन्टियर समूह, मानव सेवा आश्रम, Youth of प्रसौनी, Youth बारा, कपडा बैंकलगायत सामाजिक संस्थासँग आबद्ध रहँदै उनले आकस्मिक रक्तदान, आपतकालीन रक्त व्यवस्थापन, बेवारिस तथा असहाय नागरिकको उद्धार, अस्पतालसम्म पुर्याएर उपचारको व्यवस्था गर्ने कार्यलाई दैनिकी जस्तै बनाएका छन्। जिल्लामा हुने हरेक पीडामा साथ दिने र कमजोरको आवाज बन्ने युवा अभियन्ताका रूपमा उनी चिनिन्छन्।
यही सामाजिक पृष्ठभूमि र जनतासँगको निरन्तर सम्पर्कका आधारमा गुप्ताले बारा–४ मा उम्मेदवार छनोट गर्दा पुराना अनुहारलाई एकल नामका रूपमा सिफारिस नगर्न केन्द्र र जिल्ला कार्य समितिलाई आग्रह गरेका हुन्।
“अब बारा–४ का मतदाताले बन्द कोठाभित्र हुने निर्णय, पूँजीको प्रभाव र पुरानै अनुहार स्वीकार्दैनन्,” गुप्ताले भने, “यदि जनभावनाविपरीत पार्टीभित्रै बसेर एकल नाम सिफारिस गरिन्छ भने त्यसले रास्वपाको परिवर्तनको मूल मर्ममाथि गम्भीर प्रश्न उठाउँछ।”
उनले उम्मेदवार छनोट प्रक्रिया खुला, पारदर्शी र समावेशी हुनुपर्नेमा जोड दिँदै युवाहरू, पेशागत समूह, नागरिक समाज र पार्टीका क्रियाशील कार्यकर्तासँग व्यापक छलफलपछि मात्र नाम टुंग्याउनुपर्ने बताए। उनका अनुसार बारा–४ लाई अब भाषण मात्र होइन, नीति, योजना र परिणाम दिने नेतृत्व आवश्यक छ।
आन्तरिक उम्मेदवार छनौटमा उमेदवारी दिएका गुप्ताले जनताले चाहे र विश्वास गरे, आफू क्षेत्रको कान्छा उम्मेदवार का रूपमा अघि बढ्न तयार रहेको बताउँदै आफ्नो लक्ष्य सत्ता होइन, गाउँ–क्षेत्रका वास्तविक पीडालाई संसदसम्म पुर्याउने, नेतृत्वलाई जवाफदेही बनाउने र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउने रहेको स्पष्ट पारे। “देश बलियो हुन जनता सचेत हुनुपर्छ, र जनता सचेत हुन नेतृत्व इमानदार हुनुपर्छ,” भन्ने उनको विश्वास नै आगामी राजनीतिक यात्राको आधार बनेको छ।
उनको यो अभिव्यक्तिलाई रास्वपाभित्र बढ्दो आन्तरिक बहस र स्थानीय तहमा देखिएको चासोको प्रतिबिम्बका रूपमा हेरिएको छ। बारा–४ मा उम्मेदवार छनोटलाई लिएर पार्टीभित्र छलफल थप तीव्र हुँदै गएको संकेत देखिएको छ, जहाँ गुप्ता परिवर्तन चाहने युवाको बलियो प्रतिनिधिका रूपमा उभिँदै गएका छन्।






