वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा पूर्वमन्त्री प्रदीप यादवसहित आठ जना नेतामाथि कारबाही गरेको छ। पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको भन्दै उनीहरूलाई पार्टीबाट निष्कासन गरिएको हो।
निष्कासनमा पर्नेमा प्रदीप यादवसँगै चन्दनकुमार सिंह, आत्माराम साह, कमरुल्लाह अन्सारी, नवलकिशोर सिंह (बारा), उदयकान्त मिश्र (सर्लाही), हरिनारायण यादव र डा. शिवजी यादव (महोत्तरी) रहेका छन्। पार्टी नेतृत्वका अनुसार उनीहरूले पार्टीको नीति, निर्णय र हितविपरीत गतिविधि गरेको ठहर गरिएको छ।
विशेषगरी पूर्वमन्त्री यादवले मनोनयन दर्ताको पूर्वसन्ध्यामा जसपा नेपाल त्याग्दै नेकपा एमाले प्रवेश गरी पर्सा क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दिएका थिए। एमाले प्रवेशसँगै उनी सक्रिय चुनावी अभियानमा जुटिरहेका छन्।
यादवले पार्टी परित्याग गरेको एक साता भन्दा बढी समयपछि जसपा नेपालले आज औपचारिक रूपमा कारबाहीको निर्णय सार्वजनिक गरेको हो। पार्टीका संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवद्वारा जारी विज्ञप्तिमा हिजोको मितिदेखि लागू हुने गरी उनीहरूलाई पार्टीबाट निष्कासन गरिएको उल्लेख छ।







