वीरगञ्ज । मधेश र समग्र नेपालको विविध भाषा, साहित्य र संस्कृतिलाई एकै मञ्चमा जोड्ने उद्देश्यसहित आयोजना गरिएको मधेश साहित्य महोत्सव २०२६ आज वीरगञ्जमा औपचारिक रूपमा सुरु भएको छ। वीरगञ्जस्थित मधेश विश्वविद्यालय परिसरमा सुरु भएको तीनदिने महोत्सवको उद्घाटन सत्रमा मधेश प्रदेश सरकारका मन्त्री शंकर चौधरी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री चौधरीले मधेशको भाषा, साहित्य र संस्कृतिले यहाँको पहिचान र इतिहासलाई जीवन्त बनाएको उल्लेख गर्नुभयो। उहाँले यस्ता महोत्सवले दबिएका आवाजलाई सार्वजनिक मञ्च प्रदान गर्दै सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो।
समारोहको अध्यक्षता वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख तथा मधेश साहित्य महोत्सव २०२६ का संरक्षक राजेशमान सिंहले गर्नुभएको थियो। नगर प्रमुख सिंहले मधेश साहित्य महोत्सव अब एउटा कार्यक्रम मात्र नभई साझा सांस्कृतिक आन्दोलनका रूपमा स्थापित हुँदै गएको बताउनुभयो। उहाँले वीरगञ्जलाई साहित्य, कला र बौद्धिक संवादको केन्द्रका रूपमा विकास गर्न महानगरपालिका सदैव साथ रहने प्रतिबद्धता जनाउनुभयो।
मेयर सिंहले मधेशका विविध भाषा, समुदाय र पुस्तालाई जोड्ने यस्तो मञ्चले पहिचान, समावेशिता र आपसी सम्मानको संस्कार विकास गर्ने भन्दै महोत्सवले मधेशको कथालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने अपेक्षा व्यक्त गर्नुभयो।
उत्कर्ष नेपालद्वारा आयोजित महोत्सव माघ १५, १६ र १७ गतेसम्म सञ्चालन हुनेछ। यस अवधिमा गाउँ केन्द्रित बहस, साहित्यिक सत्र, काव्यशाला, बहुभाषिक कवि गोष्ठी तथा विविध सांस्कृतिक प्रस्तुति समावेश गरिएको आयोजकले जनाएको छ।






