विरगंज । नेपाल कावेरी एकेडमिले आफ्नो १२औँ वार्षिकोत्सव समारोह अत्यन्तै उत्साह र गौरवका साथ सम्पन्न गरेको छ। कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरूको सक्रिय सहभागितामा प्रस्तुत कार्यक्रमहरूले समारोहलाई रंगीन, सजीव र अर्थपूर्ण बनायो। यस अवसरमा संस्कृति, सिर्जनशीलता र सामाजिक चेतनाको सुन्दर समन्वय देख्न पाइयो।
विद्यार्थीहरूले विभिन्न समुदायको प्रतिनिधित्व गर्ने आकर्षक सांस्कृतिक नृत्य, सुमधुर गीत, वाद्ययन्त्रको मनमोहक प्रस्तुति तथा ज्येष्ठ नागरिकप्रतिको सम्मान र संवेदनशीलताको सन्देश बोकेको वृद्धाश्रम विषयक प्रभावशाली नाटक प्रस्तुत गरी दर्शकलाई मन्त्रमुग्ध बनाए।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा विद्यालयका अध्यक्ष श्री श्याम तुल्स्यानज्यूको गरिमामय उपस्थिति रहेको थियो। साथै शिक्षा विभागका श्री हरि राउत, मानवसेवा आश्रमका श्री देवेश प्रसाद, प्रेस समुदायका श्री युवराज खड्का, केडिया आँखा अस्पतालका श्री सुजित मेहता, अभिभावक संघका श्री सन्दीप साह तथा विद्यालयकी व्यवस्थापन निर्देशक सुश्री आयुषी तुल्स्यानज्यूको विशिष्ट उपस्थितिले समारोहलाई थप सम्मानित बनायो।
अतिथि तथा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै प्रधानाध्यापक श्री दिलिप गुप्ताज्यूले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रतिवेदनमा विद्यालयका शैक्षिक उपलब्धिहरूका साथै विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि वर्षभरि थप गरिएका नयाँ सेवा तथा सुविधाबारे जानकारी दिइयो।
यस अवसरमा विद्यालयमा दीर्घकालीन समर्पण र उत्कृष्ट योगदान पुर्याउने शिक्षक तथा प्रशासनिक कर्मचारीहरूलाई सम्मान गरिएको थियो। विद्यालयमा १२ वर्षको निरन्तर सेवाका लागि उप–प्रधानाध्यापक श्री प्रफुल सर्राफज्यूलाई विशेष सम्मान प्रदान गरियो। साथै प्रशासनिक कार्यमा निरन्तर सहयोग र प्रतिबद्धताका लागि सुश्री अनुश्का झालाई सम्मानित गरियो।
वार्षिकोत्सव कार्यक्रम सफल बनाउन नृत्य क्षेत्रमा उत्कृष्टता देखाउँदै विद्यार्थीहरूलाई प्रशिक्षण दिएको योगदानका लागि श्री जय रजक, बसन्त पञ्चमीको अवसरमा विज्ञान प्रदर्शनी आयोजना गर्दै ‘साइन्स कर्खाना’ कार्यक्रम सफलतापूर्वक सञ्चालन गरेको योगदानका लागि श्री हिरालाल यादव तथा कला क्षेत्रमा दक्षता र विद्यार्थीहरूलाई प्रेरणादायी मार्गदर्शन प्रदान गरेकी सुश्री ईशा अग्रवाललाई प्रशंसापत्र प्रदान गरियो।
समारोह विद्यालयको शैक्षिक उत्कृष्टता, सांस्कृतिक विविधता र मूल्यमा आधारित शिक्षाप्रतिको दृढ प्रतिबद्धता प्रतिबिम्बित गर्दै उच्च उत्साहका साथ सम्पन्न भयो।






