Categories राजनीति

आन्तरिक कलह, विपक्षीको चुनौती र ‘चुनावमा मात्र देखिने’ आरोपले पर्सा–२ मा चौरसियाको बिरासत संकटमा

Advertisement

वीरगन्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ का कांग्रेस उम्मेदवार अजय कुमार चौरसियालाई आफ्नो पुरानो राजनीतिक बिरासत जोगाउन निकै कठिन हुने अनुमान गर्न थालिएको छ। लामो समयदेखि सो क्षेत्रको प्रतिनिधित्व गर्दै आएका चौरसिया यसपटक भने अनेक चुनौतीको घेरामा परेका छन्।

एकातिर उनी पुरानो अनुहार हुनु र अर्कोतिर आफ्नै पार्टीभित्र असन्तुष्टि बढ्दै जानुले यो निर्वाचन उनको लागि ‘फलामको च्युरा चबाउनु’ सरह हुने स्थानीय राजनीतिक वृत्तमा चर्चा चलिरहेको छ। कांग्रेसभित्रको आन्तरिक कलह सतहमा आउन थालेको छ भने टिकटको प्रमुख दाबेदारका रूपमा चर्चामा रहेका राजेन्द्र बहादुर अमात्य समूहबाट समेत अपेक्षित सहयोग नपाउने संकेत देखिएको छ। यदि यस्तो अवस्था कायम रह्यो भने त्यसको प्रत्यक्ष असर निर्वाचन परिणाममा पर्ने विश्लेषकहरू बताउँछन्।

Advertisement

यसैबीच स्वतन्त्र उम्मेदवारी दिएर अन्ततः फिर्ता लिएका राजेश्वर साह तेलीबाट पनि चौरसियाले ठोस सहयोग पाउने सम्भावना न्यून रहेको बताइन्छ। साहमाथि आफ्नै जातीय समुदायका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशिल साह कानुलाई समर्थन गर्न दबाब परेको चर्चा छ। यस कारण पनि चौरसियाको पक्षमा मत एकीकृत नहुने र परिणाम प्रतिकूल हुन सक्ने अनुमान गरिएको हो।

Advertisement

अर्कोतर्फ एमालेले पर्सा–२ मा युवा तथा महिला उम्मेदवार अघि सारेर आक्रामक प्रचार अभियान सञ्चालन गरिरहेको छ। संगठित रूपमा एमाले पर्सा क्षेत्र नम्बर–२ बलियो मानिनु, साथै मतदाताहरूमा नयाँ जोश र नयाँ अनुहारप्रतिको आकर्षण बढ्नुले पनि यो निर्वाचन पुराना नेताहरूका लागि चुनौतीपूर्ण बन्दै गएको छ।

राष्ट्रिय राजनीतिमा हलचल ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीका युवा उम्मेदवार सुशिल साह कानु र राप्रपाका युवा तथा चर्चित उम्मेदवार बिना जयसवालले समेत चुनावी माहौल आफ्नो पक्षमा पार्न कुनै कसर बाँकी राखेका छैनन्। यसले बहुपक्षीय प्रतिस्पर्धालाई थप तीव्र बनाएको छ।

यता अजय चौरसियामाथि चुनावको बेला मात्र जनताको याद आउने गरेको आरोप पनि बारम्बार लाग्दै आएको छ। पर्सा–२ बाट निर्वाचित भएपछि आफ्नै क्षेत्रलाई बेवास्ता गरेको, विपद् पर्दा नदेखिने तर पार्टीका कार्यक्रमका लागि भने काठमाडौंबाट वीरगन्ज आउने गरेको गुनासो स्थानीय तहमा व्यापक छ। वीरगन्जमा पानीको गम्भीर संकट उत्पन्न हुँदा समेत उनले चासो नदेखाएको आरोप लाग्दै आएको छ।

पूर्व कानुन मन्त्रीसमेत रहेका चौरसियामाथि अफताब आलम प्रकरणलाई लिएर पनि आलोचना हुने गरेको छ। अफताब आलमलाई उच्च अदालत जनकपुरले सफाइ दिएपछि तत्कालीन कानुन मन्त्रीका रूपमा चौरसियाको भूमिकामाथि प्रश्न उठेको थियो। केही दिनअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीका बहुदरमाई नगरपालिकाका नगरसभापति चन्दन यादवले समेत पूर्व कानुन मन्त्रीकै कारण आलम छुटेको आरोप सार्वजनिक रूपमा लगाएका थिए।

मनोनयन दर्ताका दिनसमेत पार्टी नेतृत्व चौरसियालाई टिकट दिन इच्छुक नदेखिएको चर्चा थियो। मनोनयन दर्ता गर्न करिब दुई घण्टा मात्र बाँकी रहँदा, दिउँसो करिब ३ बजेतिर मात्र उनले टिकट पाएको घटनाले पनि पार्टीभित्रको असन्तुष्टि झल्काउँछ।

चुनाव नजिकिँदै जाँदा गरिबलाई कम्बल वितरण गर्ने, भोट माग्ने क्रममा विभिन्न आश्वासन बाँड्ने गतिविधि बढे पनि यसलाई धेरैले ‘चुनावी औपचारिकता’ मात्र ठानेका छन्। यी सबै कारणले पर्सा–२ मा यसपटकको निर्वाचन पुरानो राजनीतिक बिरासतलाई ठूलो धक्का दिने गरी नयाँ जोश, नयाँ अनुहार र नयाँ शक्तिको पक्षमा मोडिन सक्ने अनुमान बलियो बन्दै गएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *