Categories समाचार

रास्वपा पर्साद्वारा क्षेत्र नं. १ का सक्रिय सदस्यसँग अन्तरक्रिया, चुनावी रणनीतिमा गहन छलफल

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले निर्वाचनलाई लक्षित गर्दै क्षेत्र नं. १ का सक्रिय सदस्यहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पर्साका चारै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारलाई विजयी गराउन पार्टीपंक्ति र शुभेच्छुकले खेल्नुपर्ने भूमिकाबारे गहिरो छलफल गरिएको थियो।

अन्तरक्रियाका क्रममा विभिन्न तह र तप्काबाट आएका सहभागीहरूले आ–आफ्ना धारणा, अनुभव र सुझाव प्रस्तुत गरेका थिए। ती सुझावहरूले संगठन विस्तार, मतदाता पहुँच र चुनावी रणनीतिलाई थप प्रभावकारी बनाउने विषयमा केन्द्रित रहेको थियो।

Advertisement

कार्यक्रममा उठेका विषयलाई सम्बोधन गर्दै पर्सा सभापति तथा क्षेत्र नं. १ का उम्मेदवार हरि पन्तले प्राप्त भएका जायज सुझावहरूलाई पार्टीले गम्भीरतापूर्वक ग्रहण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले फागुन २१ गतेको निर्वाचनलाई भ्रष्टाचार, कुशासन, अनियमितता, नातावाद र कृपावादविरुद्धको जनविद्रोहको रूपमा चित्रण गर्दै मतपत्रमार्फत यसको जवाफ दिन आम नागरिकलाई आह्वान गरे।

Advertisement

सभापति पन्तले कार्यक्रममा देखिएको उल्लेख्य सदस्य सहभागिताले आफू र पार्टीलाई थप उत्साह र आत्मविश्वास दिएको उल्लेख गर्दै पर्साका चारै निर्वाचन क्षेत्रमा रास्वपाको जित सुनिश्चित हुने दाबीसमेत गरे।

सयौं रास्वपा शुभेच्छुकहरूको सहभागिता रहेको उक्त कार्यक्रममा जिल्ला सचिव सुदिश प्रजापति, क्षेत्रीय सभापति राम आर्या, फैयाद मियाँलगायत नेताहरूको उपस्थिति थियो। सहसचिव कृष्ण पास्वानले सञ्चालन गरेको कार्यक्रम महानगर सभापति अमन आलमको सभापतित्वमा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *