वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्साको पिपरा क्षेत्रमा संगठनात्मक शक्ति थप्दै निर्वाचन तयारीलाई तीव्र बनाएको छ। घरदैलो कार्यक्रमको पूर्वसन्ध्यामा पिपरामा कृष्ण पटेलको नेतृत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन भएसँगै सो क्षेत्रमा रास्वपाको उपस्थिती थप मजबुत बनेको दाबी गरिएको छ ।
पार्टीका कार्यकर्ताहरुले पिपरालाई अब चुनावी रूपमा महत्वपूर्ण केन्द्रको रूपमा लिएका छन्। यसैक्रममा, वीरगञ्ज महानगरपालिका–२३ स्थित सबैठ्वामा सयौं जेन्जी युवाहरु राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। रोशन यादव र रवी यादवको नेतृत्वमा भएको उक्त प्रवेश कार्यक्रमले पर्सामा जेन्जी पुस्ताको बढ्दो राजनीतिक सक्रियता झल्काएको छ।
कार्यक्रममा नवप्रवेशी युवाहरुलाई स्वागत गर्दै पर्सा सभापति तथा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि पन्तले भाद्र २३ र २४ को जेन्जी विद्रोहकै कारण देश परिवर्तनको मोडमा पुगेको बताए। अब त्यो परिवर्तनको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्ने उनको दाबी थियो।
पन्तले जेन्जी युवाहरुको निरन्तर पार्टी प्रवेशले पर्सामा रास्वपाको जित सुनिश्चित हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा जिल्ला सचिव सुदिश प्रजापति, महानगर सभापति अमन आलम, सचिव गौतम श्रेष्ठ, क्षेत्रीय सभापति राम आर्यलगायतको उपस्थिति रहेको थियो। जेन्जीको ऊर्जा र संगठनात्मक तयारीसँगै पर्सामा रास्वपा चुनावी प्रतिस्पर्धामा थप बलियो बन्दै गएको राजनीतिक विश्लेषकहरु बताउँछन्।






