वीरगंज । सशस्त्र प्रहरी बल, नेपालले भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याइँदै गरिएको करिब १५ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ।
वीरगंज महानगरपालिका–१४ स्थित गण्डक चोकमा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले चेकप्वाइन्ट राखी सवारी साधन चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा ल्याइँदै गरिएको रु. ५ लाख ११ हजार १०० बराबरको लत्ताकपडा बरामद गरेको हो।
त्यसैगरी, वीरगंज महानगरपालिका–१६ इनर्वा तथा आसपासका विभिन्न सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. वीरगंजबाट खटिएको टोलीले विभिन्न सवारी साधनमा लुकाई–छिपाई ल्याइँदै गरिएको रु. ५ लाख ९६ हजार बराबरको कपडा, मोबाइल पार्ट्स, पैसा गन्ने मेसिन, ग्यास पार्ट्स, मोटर पार्ट्स लगायतका सामानहरू बरामद गरेको छ।
साथै, अवैध रूपमा प्रयोग गरिएको रु. ४ लाख बराबरको एक थान अटो समेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएका सम्पूर्ण सामानहरू आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी गराए ।






