वीरगंज । पर्सा–१ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार हरि पन्तले मधेस आन्दोलनका सहिद दिलीप चौरसियाको परिवारसँग भेटघाट गरी सहिदप्रति सम्मान र न्यायको प्रतिबद्धता व्यक्त गरेका छन्। भेटका क्रममा परिवारले मधेस आन्दोलनको नाममा केही राजनीतिक दलले व्यक्तिगत स्वार्थ पूरा गरेकोमा दुःख व्यक्त गरेका थिए।
मंगलबार जगरनाथपुरमा आयोजित घरदैलो कार्यक्रममा स्थानीयवासी, युवा, महिला र पार्टी कार्यकर्ताको उत्साहजनक सहभागिता देखियो। कार्यक्रमको सुरुवात श्रीराम जानकी मन्दिरमा पूजा–अर्चना गरेर गरिएको थियो र त्यसपछि वडाका विभिन्न टोलहरूमा कार्यक्रम सञ्चालन गरिएको थियो।
कार्यक्रममा उम्मेदवार पन्तले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै पार्टीको नीति, उद्देश्य र भविष्यका योजनाबारे जानकारी दिएका थिए। स्थानीयले शिक्षा, रोजगारी, खानेपानी, सडक, स्वास्थ्य र सुशासनसम्बन्धी समस्या तथा सुझाव राखेका थिए, जसमा पन्तले समाधानमुखी पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
रास्वपाले आगामी दिनहरूमा पनि जनस्तरसँग प्रत्यक्ष संवाद र सहभागितामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।






