वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा क्षेत्र नं.–१ का उम्मेदवार हरि पन्तलाई वीरगञ्जको भन्सार एरियाका स्थानीयहरूले स्वागत गरेका छन्। रास्वपाले आज आयोजना गरेको घरदैलो कार्यक्रमका क्रममा पन्तले स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्दै समर्थन जुटाएका हुन्।
स्वागत कार्यक्रममा बोल्दै वीरगञ्ज भन्सार एजेन्ट संघका पूर्व अध्यक्ष विजय साहले रास्वपाले मात्र देशमा आमूल परिवर्तन सम्भव बनाउने दाबी गरे। उनले सुशासन र समृद्धिको यात्रामा मुलुकलाई अघि बढाउन रास्वपाप्रति निस्वार्थ सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
घरदैलो अघि आयोजित कोणसभालाई सम्बोधन गर्दै रास्वपा पर्सा सभापति तथा उम्मेदवार पन्तले मतदातालाई सचेत निर्णय गर्न आग्रह गरे। उनले विगत ३५ वर्षदेखि सत्तामा रहेका पुराना दलका उम्मेदवारलाई “के गरे र अब के गर्छु?” भन्ने प्रश्न सोध्न मतदातालाई आह्वान गरे। साथै, फेरि पनि पुरानै दललाई मत दिएर जेन्जी आन्दोलनको उपहास नगर्न अनुरोध गरे।
घरदैलोका क्रममा पन्तले रास्वपाको नीति, उद्देश्य तथा सुशासन, पारदर्शिता र जवाफदेहितामा आधारित राजनीतिक प्रतिबद्धताबारे जानकारी गराए।






