वीरगंज । नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की प्रतिनिधिसभा सदस्य उम्मेदवार रिमा यादवले घरदैलो तथा मतदाता भेटघाट अभियानलाई तीव्र बनाएकी छन्। युवा तथा जेनजी पुस्ताको प्रतिनिधित्व गर्ने उम्मेदवारका रूपमा यादवको अभियानमा उल्लेखनीय उत्साह र सहभागिता देखिएको छ।
घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार यादवले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै आगामी निर्वाचनमा सूर्य चिन्हमा मतदान गर्न आग्रह गरिन्। भेटघाटका क्रममा स्थानीयवासीहरूले जेनजी आन्दोलनको भावनाअनुसार एमालेले शिक्षित, सक्षम र ऊर्जावान नयाँ पुस्ताको उम्मेदवार अघि सारेको भन्दै सकारात्मक प्रतिक्रिया जनाएका थिए।
कार्यक्रममा सहभागी केही मतदाताहरूले अब पुराना र थकित नेतृत्वलाई होइन, नयाँ सोच र ऊर्जा बोकेको नेतृत्वलाई साथ दिने घोषणा गर्दै जेनजी उम्मेदवार यादवलाई तन, मन र धनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
उम्मेदवार यादवले पूर्वाधार विकास, रोजगारी सिर्जना, स्वास्थ्य, शिक्षा तथा समाजकल्याणलाई आफ्नो प्रमुख प्राथमिकता रहेको बताउँदै पर्सा–२ मा अझै धेरै विकासका काम बाँकी रहेको उल्लेख गरिन्। ती अधुरा विकास योजनालाई पूरा गर्न आफू जनताको विश्वाससहित निर्वाचनमा होमिएको उनको भनाइ थियो।
घरदैलो कार्यक्रममा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।






