वीरगंज । भारत–नेपाल सीमाको ऐतिहासिक र व्यस्त नाका रक्सौल अब रेल यात्राको साधारण थलो मात्र रहने छैन। केन्द्र सरकारको अमृत भारत स्टेशन योजना अन्तर्गत रक्सौल रेलवे स्टेशनलाई आधुनिक, भव्य र अन्तर्राष्ट्रिय स्तरको सीमा स्टेशनको रूपमा विकास गर्न थालिएको छ।
पुनर्निर्माणपछि बन्ने नयाँ स्टेशन भवनमा नेपालको सांस्कृतिक पहिचान झल्किने डिजाइन समावेश गरिनेछ। विशेषगरी काठमाडौँस्थित पशुपतिनाथ मन्दिरको वास्तुकलाबाट प्रेरित संरचनाले रक्सौललाई धार्मिक र सांस्कृतिक दृष्टिले समेत विशिष्ट बनाउने जनाइएको छ ।
करिब ५४ करोड रुपैयाँ लागतमा निर्माण हुने तीनतले अत्याधुनिक स्टेशन भवनमा यात्रु सुविधालाई केन्द्रमा राखेर संरचना तयार गरिँदैछ। स्टेशनको उत्तर र दक्षिण दुवैतर्फ प्रवेशद्वार रहने भएकाले यात्रु आवतजावत सहज हुने मात्र होइन, सहरका दुई भागबीचको सम्पर्कसमेत मजबुत हुने अपेक्षा गरिएको छ।
यात्री सुरक्षालाई ध्यानमा राख्दै १२ मिटर चौडाइको फुट ओभरब्रिज र्याम्पसहित निर्माण गरिनेछ, जसका लागि ८.६१ करोड रुपैयाँ बजेट छुट्याइएको छ। स्टेशनभित्र लिफ्ट, एस्केलेटर, डिजिटल सूचना बोर्ड, आधुनिक प्रतीक्षालय, स्वच्छ शौचालय तथा अपाङ्गमैत्री पूर्वाधार उपलब्ध हुनेछन्। One Station One Product योजनामार्फत स्थानीय उत्पादन प्रवर्द्धनका लागि विशेष स्टलहरू पनि राखिनेछन्।
स्टेशन क्षेत्रको दीर्घकालीन ट्राफिक समस्या समाधान गर्न फाटक नं. ३३ र ३४ मा छुट्टाछुट्टै रेल ओभरब्रिज (ROB) निर्माण गर्ने निर्णय भइसकेको छ। यसले सीमावर्ती क्षेत्रमा देखिने जामको समस्या कम गर्ने विश्वास गरिएको छ।
यता, वन्दे भारत र अमृत भारतजस्ता आधुनिक तथा लामो दूरीका रेल सञ्चालनलाई लक्षित गर्दै प्लेटफर्म सतह, छाना र अन्य संरचनाको स्तरोन्नतिका लागि टेन्डर प्रक्रिया अघि बढिसकेको छ।
परियोजना सम्पन्न भएसँगै रक्सौल स्टेशन भारत–नेपालबीचको व्यापार, पर्यटन र आवागमनको प्रमुख केन्द्र बन्ने अपेक्षा गरिएको छ। साधारण स्टेशनबाट अन्तर्राष्ट्रिय प्रवेशद्वारतर्फ उन्मुख हुँदै गरेको रक्सौल अब सीमावर्ती सहरको नयाँ पहिचान निर्माण गर्ने तयारीमा छ।






