वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत पकहाँमैनपुर गाउँपालिका–३ मा नेकपा एमालेको क्षेत्रीय सम्पर्क कार्यालय स्थापना गरिएको छ। प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रुपेश कुमार पाण्डेयले एक कार्यक्रमबीच कार्यालयको उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा विजय चौरसिया, बिन्दाचल ठाकुर, रामबाबु चौरसिया, शिव पटेल, तेजप्रकाश निषाद, राजकिशोर शाह तेली, नवल पटेल, मोतार कामकार, जनमहमद आलम, सच्चिउ ताराचनलगायत करिब ५० जना सहभागी भएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेयले क्षेत्र नम्बर–३ मा एमालेप्रति जनसमर्थन क्रमशः बढिरहेको दाबी गरे। उनले विकास, सुशासन र नागरिक अधिकारको प्रत्याभूति एमालेको प्राथमिक एजेन्डा रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन अपिल गरे। “समृद्ध र व्यवस्थित क्षेत्र निर्माणका लागि हाम्रो प्रतिबद्धता स्पष्ट छ,” उनले भने।
उद्घाटनपश्चात् स्थानीय कार्यकर्ताहरूले घरदैलो अभियानलाई थप प्रभावकारी बनाउने र संगठन सुदृढीकरणमा सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।






