वीरगंज । सर्लाहीको सदरमुकाम मलङ्गवामा पूर्वाधार विकास कार्यालयमा कार्यरत सब इन्जिनियर प्रमोद कुमार यादवको गोली हानी हत्या गरिएको छ। मलङ्गवा–१० मा भाडामा बस्दै आएका यादवमाथि शनिबार राति करिब ८ बजे मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गोली प्रहार गरेका हुन्।
प्रहरीका अनुसार हतियारधारीले फोन गरेर यादवलाई घरको कम्पाउण्ड बाहिर बोलाएका थिए। बाहिर निस्किएलगत्तै उनीमाथि गोली चलाइएको थियो। गोली बायाँ छातीमा लागेर गम्भीर घाइते भएका यादवलाई तत्काल प्रादेशिक अस्पताल मलङ्गवामा पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
यादव सिरहा जिल्लाको सुखिपुर नगरपालिकाका स्थायी बासिन्दा हुन्। घटनाको कारण खुल्न बाँकी रहेको र संलग्न व्यक्तिको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






