वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. ५ बटसौरामा आज माओवादी पार्टी परित्याग गरी करिब ८० जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।
महेन्द्र बैठा, धोड़ा पटेल, बगडी ठाकुर, पुरण शाह प्रभु बैठालगायत स्थानीय व्यक्तिहरू माओवादी पार्टी छोडेर एमाले प्रवेश गर्दै प्रतिनिधिसभा उम्मेदवार रुपेश पाण्डेयलाई समर्थन जनाएका हुन् ।
प्रवेश गर्नेहरूलाई स्थानीय नेता रमेश शाह तेलीको नेतृत्वमा आयोजित कार्यक्रममा उम्मेदवार पाण्डेय तथा पूर्वमन्त्री प्रमोद जैसवाललगायत एमाले नेताहरूले स्वागत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेता तथा पूर्वमन्त्री जैसवालले अन्य पार्टीहरू डराएको कारण विभिन्न अफवाह फैलाइरहेको उल्लेख गर्दै त्यस्ता भ्रममा नपर्न आग्रह गरे । उनले क्षेत्रको विकास गर्न सक्ने सक्षम उम्मेदवार रुपेश पाण्डेयलाई मतदान गर्न अपिल गरे ।
उम्मेदवार रुपेश पाण्डेयले आफू सकारात्मक काममार्फत क्षेत्रको विकास गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताउँदै जनतालाई सहज, सरल र अधिकार सुनिश्चित हुने वातावरण बनाउन प्रतिबद्ध रहेको बताए ।
उनले निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गतका १०७ गाउँ र ३५ वडाका सम्पूर्ण जनताको आर्थिक अवस्था उकास्ने योजना अघि सारे । पाण्डेयले माछापालन, तरकारी खेती तथा उत्पादन सामग्री बिक्रीका लागि बजार व्यवस्थापनलाई प्राथमिकतामा राख्दै क्षेत्रका करिब ९ स्थानमा बजारिकरण केन्द्र स्थापना गर्ने प्रतिबद्धता जनाए ।
यसक्रममा उनले भने, “जुन रुखमा फल हुन्छ, त्यसलाई नै बढी झटारो खानुपर्छ,” भन्दै निर्वाचन आयोगले गर्ने कार्यमा यहाँका उम्मेदवारहरूलाई दुःख नगरिदिन आग्रह गरे ।
यसैबीच आजै नेकपा एमालेको सम्पर्क कार्यालयसमेत उद्घाटन गरिएको छ । उक्त कार्यालयको उद्घाटन उम्मेदवार पाण्डेयले गरेका हुन् ।






