वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका हरियाली संयोजक तथा ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष प्रकाश खेतान र डा. निरज सिंहबीच रक्तदान कार्यक्रम बारे विशेष भेटवार्ता सम्पन्न भएको छ। भेटका क्रममा वीरगञ्जस्थित मितेरी पुल क्षेत्रमा यही शनिबार नेपाल भारतको सहकार्यमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरिने जानकारी दिइएको छ।
नेपाल भारत मित्रताको प्रतीक मानिने मितेरी पुल क्षेत्रमा आयोजना हुन लागेको उक्त रक्तदान कार्यक्रमले मानवीय सेवा, आपसी सद्भाव र सहकार्यको सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ। कार्यक्रममार्फत दुवै देशका नागरिकबीच सामाजिक एकता र सहकार्यको भावना अझ सुदृढ हुने अपेक्षा गरिएको छ।
यसअघि फोहोरले भरिएको मितेरी पुल क्षेत्र हाल सरसफाइ र हरियाली व्यवस्थापनपछि आकर्षक तथा स्वच्छ बनेको छ। महानगर र स्थानीय समुदायको सक्रियतामा गरिएको सफाइ तथा सौन्दर्यीकरण अभियानले क्षेत्रको स्वरूप नै परिवर्तन गरेको छ। अहिले स्थानीयवासीले उक्त स्थानलाई सिंगारिएपछि फरक अनुभूति हुने, बस्न र अवलोकन गर्न उपयुक्त स्थलका रूपमा लिन थालेका छन्।
आयोजकका अनुसार रक्तदान कार्यक्रम केवल स्वास्थ्य सेवामा सहयोग पुर्याउने अभियान मात्र नभई सामाजिक उत्तरदायित्व र अन्तरदेशीय मित्रताको सशक्त उदाहरण बन्नेछ। स्थानीय युवा, सामाजिक संघसंस्था तथा स्वयंसेवकहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई सफल बनाउने विश्वास व्यक्त गरिएको छ।






