वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–१ मा उम्मेदवारी दिएका उद्योगपति अनिल रुँगटाको चुनावी अभियान अहिले ‘युवालाई रोजगारी’ भन्ने मूल नारासहित तीव्र गतिमा अघि बढिरहेको छ। घरदैलो कार्यक्रमदेखि आमसभासम्म उनले स्वदेशमै रोजगारी सिर्जना गर्ने, युवा पलायन रोक्ने र औद्योगिक वातावरण विस्तार गर्ने प्रतिबद्धता दोहोर्याउँदै आएका छन्।
तर, रुँगटाको स्वामित्वमा सञ्चालित जग शक्ति स्टील र मा दुर्गा फुड कम्पनीमा कार्यरत श्रमिक संरचनाबारे स्थानीय तहमा बहस चर्किएको छ। विभिन्न स्रोतले ती उद्योगहरूमा उल्लेख्य संख्यामा भारतीय नागरिक कार्यरत रहेको दाबी गरेका छन्। यही विषयलाई लिएर मतदाताबीच प्रश्न उठ्न थालेको छ ।
स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार, उद्योग सञ्चालनमा सस्तो श्रम प्रयोग गर्ने अभ्यास रहँदै आएको पृष्ठभूमिमा चुनावी मञ्चबाट ‘रोजगारी क्रान्ति’को प्रतिबद्धता व्यक्त गर्नु व्यवहार र वचनबीचको अन्तर देखिने संकेत हुन सक्छ। “रोजगारी सिर्जनाको नमूना आफ्नै उद्योगबाट देखिनुपर्थ्यो,” एक स्थानीय जानकारले टिप्पणी गरे, “नत्र चुनावी भाषण मात्र जनतालाई विश्वस्त पार्न पर्याप्त हुँदैन।”
मतदाताहरूको अर्को जिज्ञासा कार्यान्वयन योजनालाई लिएर छ। रुँगटाले प्रस्तुत गरेका कार्यक्रमहरूमा रोजगारी सिर्जनाको स्पष्ट खाका, लक्ष्य संख्या वा समयसीमा सार्वजनिक नगरिएको आरोपसमेत सुनिन थालेको छ। उनी समर्थकहरूले भने औद्योगिक लगानी विस्तारसँगै स्थानीय जनशक्तिलाई प्राथमिकता दिने योजना क्रमशः कार्यान्वयन हुने दाबी गरेका छन्।






