वीरगञ्ज । कृषि ज्ञान केन्द्र, वीरगञ्ज, पर्साले आर्थिक वर्ष २०८२/०८३ को लक्षित एकीकृत शत्रुजीव व्यवस्थापन (आई.पि.एम) कार्यक्रम अन्तर्गत हिउँदे तरकारी काउलीबालीमा सञ्चालन गरिएको कृषक पाठशालाको समापनसँगै कृषक दिवस तथा प्रमाणपत्र वितरण समारोह सम्पन्न गरेको छ।
वीरगञ्ज महानगरपालिका–२१ को कोइरीयाटोल, परवानीपुरमा सञ्चालित श्री संसारीमाई आई.पि.एम कृषक पाठशालाका सहभागी कृषकहरूलाई आज आयोजित समारोहबीच प्रमाणपत्र वितरण गरिएको हो। कार्यक्रमको आयोजना कृषि ज्ञान केन्द्र, वीरगञ्ज, पर्साले गरेको थियो।
समारोहका प्रमुख अतिथि महानगर प्रमुख राजेशमान सिंहले कृषकहरूलाई प्रमाणपत्र प्रदान गर्दै कृषि क्षेत्रको आधुनिकीकरण र वैज्ञानिक खेती प्रणाली अपनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले एकीकृत शत्रुजीव व्यवस्थापन प्रविधिले उत्पादन लागत घटाउनुका साथै वातावरणमैत्री खेती प्रवर्द्धन गर्ने उल्लेख गर्नुभयो। महानगरपालिकाले कृषकहरूको सीप, प्रविधि र उत्पादन वृद्धिका लागि आवश्यक सहकार्य र सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
कार्यक्रममा कृषकहरूले काउलीबालीमा देखिने रोग तथा कीराको पहिचान, जैविक तथा समन्वित नियन्त्रण विधि, सुरक्षित विषादी प्रयोग, तथा दिगो कृषि अभ्यासबारे तालिम प्राप्त गरेका थिए। सहभागी कृषकहरूले तालिमबाट व्यवहारिक ज्ञान हासिल भएको र आगामी दिनमा उत्पादन तथा आम्दानी वृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे।
कृषि ज्ञान केन्द्र, वीरगञ्जका प्रतिनिधिहरूले आई.पि.एम कार्यक्रमले कृषकलाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउने लक्ष्य लिएको जानकारी दिँदै आगामी वर्षहरूमा समेत यस्ता कार्यक्रमलाई विस्तार गरिने बताएका छन्।






