Categories हाइलाइट-समाचार

वीरगञ्जमा कर्फ्यू हटाइ निषेधाज्ञा जारी

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा जारी कर्फ्यू आदेश हटाउँदै निषेधाज्ञा लागू गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचनाअनुसार आज साँझ ४:३० बजेदेखि कर्फ्यू आदेश हटाइएको हो।

यसअघि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज बिहान ९:४५ बजेदेखि लागू हुने गरी वीरगञ्ज महानगरपालिकाका केही क्षेत्रमा आवतजावत तथा कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउमा रोक लगाउँदै कर्फ्यू आदेश जारी गरिएको थियो।

Advertisement

जिल्ला सुरक्षा समितिको निर्णय, समग्र शान्ति सुरक्षाको अवस्थाको विश्लेषण तथा सर्वपक्षीय बैठकको निष्कर्षका आधारमा कर्फ्यूलाई निरन्तरता दिन आवश्यक नदेखिएकाले उक्त आदेश हटाइएको प्रशासनले जनाएको छ।

Advertisement

यद्यपि अवस्था पूर्ण रूपमा सामान्य भइनसकेको भन्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम साँझ ६:०० बजेदेखि भोलि बिहान ८:०० बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। सो अवधिमा वीरगञ्ज महानगरपालिकाको बाइपास रोड, रानीघाट पुल, पावरहाउस चौक र घण्टाघर चौक आसपासका क्षेत्रमा कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने प्रशासनले स्पष्ट गरेको छ।

आदेश उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *