बैतडी । आसन्न निर्वाचन सुरक्षाका लागि भर्ना भएका थप एक अस्थायी (म्यादी) प्रहरीको मृत्यु भएको छ । मृत्युु हुनेमा बैतडी मेलौली नगरपालिका–६ हतरङ्गाका ३८ वर्षीय राजेन्द्रप्रसाद भट्ट छन् ।
जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार इलाका प्रहरी कार्यालय मेलौलीमा कार्यरत भट्ट ‘ड्युटी’ सकेर गए राति घर फर्किएकामा घरमै एक्कासी बेहोस हुनुभएको थियो । बेहोस भएपछि उनलाई उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र लगिएकामा स्वास्थ्य केन्द्रमा पुर्याउँदा चिकित्सकले गएराति नै मृत घोषणा गरेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि फागुन ८ गते दशरथचन्द नगरपालिका–४ बबेत घर भएका ३८ वर्षीय निर्वाचन प्रहरी महादेव वडको पनि ज्यान गएको थियो । खाना खान घर गएको समयमा अचेत अवस्थामा भेटिएका महादेवलाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । यस्तै, माघ तेस्रो साता पनि दशरथचन्द नगरपालिका–४ घर भएका निर्वाचन प्रहरी ३२ वर्षीय प्रकाश चन्दको भिरबाट लडेर ज्यान गएको थियो । रासस






