Categories राजनीति

ओमप्रकाश सर्राफको प्रतिबद्धता : रोजगारी, स्वास्थ्य र पूर्वाधारमा व्यापक परिवर्तनको योजना

Advertisement

वीरगञ्ज । ओमप्रकाश सर्राफले प्रतिनिधि सभा सदस्य उम्मेदवारका रूपमा पर्सा क्षेत्र नम्बर १ बाट आफ्नो विस्तृत संकल्पपत्र सार्वजनिक गरेका छन्। जनमत पार्टीका तर्फबाट उम्मेदवारी दिएका सर्राफले संप्रभुता, लोकतन्त्र, सामाजिक न्याय र समाजवादलाई आधार मानेर वीरगञ्जको समग्र विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

उनले वीरगञ्ज देशको आर्थिक राजधानी भए पनि बेरोजगारी, कमजोर स्वास्थ्य सेवा, अव्यवस्थित सडक, फोहोर व्यवस्थापन र भ्रष्टाचारजस्ता समस्याले सहरको सम्भावना रोकिएको उल्लेख गरे। व्यवसाय, समाजसेवा र जनसम्पर्कको अनुभवका आधारमा जनताको प्रत्यक्ष सहभागितामार्फत रोजगारीयुक्त, व्यवस्थित र समृद्ध वीरगञ्ज निर्माण गर्ने आफ्नो लक्ष्य रहेको उनले बताए।

Advertisement

‘ड्रिम प्रोजेक्ट’ सार्वजनिक

सर्राफले आफ्नो नीतिगत पहल अन्तर्गत तीन प्रमुख ‘ड्रिम प्रोजेक्ट’ अघि सारेका छन्। पहिलो, लामो समयदेखि अधुरो रहेको नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार आधुनिक क्रिकेट तथा बहुउद्देश्यीय रंगशालाको रूपमा विकास गर्ने योजना रहेको छ। नेपाली क्रिकेटले टी–२० विश्वकप २०२६ मा बनाएको पहिचानलाई थप मजबुत बनाउँदै वीरगञ्जलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य उनले राखेका छन्।

Advertisement

त्यस्तै, नारायणी अस्पताललाई आधुनिक र सुविधासम्पन्न स्वास्थ्य केन्द्रका रूपमा स्तरोन्नति गरी प्रदेशकै प्रमुख स्वास्थ्य हब बनाइने प्रतिबद्धता व्यक्त गरिएको छ। बहुविशेषज्ञ सेवा केन्द्रका रूपमा विकास गरिने उनको भनाइ छ।

यसैगरी, वीरगञ्जको जीवनरेखा मानिने सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन आधुनिक फोहोर प्रशोधन प्रणाली, उद्योगजन्य प्रदूषण नियन्त्रण, नदी किनार हरियाली प्रवर्द्धन र दीर्घकालीन सरसफाइ अभियान सञ्चालन गरिने योजना सार्वजनिक गरिएको छ।

रोजगारीदेखि पूर्वाधारसम्म व्यापक योजना

संकल्पपत्रमा रोजगारी सिर्जना प्रमुख प्राथमिकतामा राखिएको छ। स्थानीय उद्योग प्रवर्द्धन, १० हजार युवालाई सीप तालिम, ५ अर्ब रुपैयाँको युवा स्वरोजगार कोष र स्टार्टअप सहयोगमार्फत आगामी पाँच वर्षमा कम्तीमा ३० हजार रोजगारी अवसर सिर्जना गर्ने लक्ष्य सर्राफले लिएका छन्।

शिक्षा क्षेत्रमा विद्यालय स्तरोन्नति, स्मार्ट कक्षा विस्तार, शिक्षक तालिम र आर्थिक रूपमा कमजोर विद्यार्थीलाई छात्रवृत्तिमार्फत विद्यालय छोड्ने दर उल्लेख्य रूपमा घटाइने उल्लेख गरिएको छ। स्वास्थ्यतर्फ नगर स्वास्थ्य बीमा सहयोग, सस्तो अस्पताल सेवा विस्तार, वार्षिक निःशुल्क स्वास्थ्य शिविर र २४ घण्टा एम्बुलेन्स सेवा सञ्चालन गर्ने योजना अघि सारिएको छ।

पूर्वाधार विकास अन्तर्गत पाँच वर्षमा कम्तीमा ८० किलोमिटर सडक स्तरोन्नति, आधुनिक ढल तथा वर्षा पानी निकास प्रणाली सुधार, स्मार्ट सडक बत्ती जडान र हरित सार्वजनिक पार्क निर्माण गरिने प्रतिबद्धता जनाइएको छ।

सुशासन, व्यवसाय र सामाजिक सशक्तीकरणमा जोड

भ्रष्टाचार नियन्त्रणका लागि महानगरका सबै सेवा पूर्ण डिजिटल प्रणालीमा लैजाने, ई–टेन्डर अनिवार्य गर्ने, २४ घण्टा गुनासो दर्ता हेल्पलाइन र नियमित सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिने योजना समेटिएको छ। व्यवसायमैत्री वातावरणका लागि वनस्टप बिजनेस सहायता केन्द्र स्थापना र डिजिटल दर्ता प्रणालीमार्फत पाँच वर्षमा कम्तीमा ५ हजार नयाँ व्यवसाय दर्ता गर्ने लक्ष्य राखिएको छ।

महिला तथा युवा सशक्तीकरण अन्तर्गत ५ हजारलाई सीप तालिम, सहुलियत ऋण र इन्टर्नशिप कार्यक्रम सञ्चालन गरी १० हजार नयाँ रोजगारी अवसर सिर्जना गर्ने योजना सार्वजनिक गरिएको छ। कृषि क्षेत्रमा आधुनिक सिंचाइ, कोल्ड स्टोर स्थापना र किसान बजारमार्फत २० प्रतिशत उत्पादन वृद्धि गर्ने लक्ष्य उल्लेख गरिएको छ।

खेलकुद विकासका लागि १० नयाँ खेल मैदान निर्माण, कभर्ड हल स्तरोन्नति तथा वार्षिक महानगर खेलकुद महोत्सव सञ्चालन गरिनेछ। साथै, एकीकृत सेवा केन्द्र स्थापना, डिजिटल टोकन प्रणाली, सांस्कृतिक तथा धार्मिक महोत्सव आयोजना, टोल विकास समिति सशक्तीकरण र सहभागी बजेट प्रणाली लागू गर्ने प्रतिबद्धता पनि जनाइएको छ।

सर्राफले लाउडस्पिकर हर्न चुनाव चिह्नमा मतदान गरी आफूलाई विजयी बनाउन मतदातासँग आग्रह गरेका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *