वीरगन्ज । पर्सा क्षेत्र नम्बर–१ का लागि नेकपा (एमाले) का प्रतिनिधिसभा उम्मेदवार प्रदीप यादवले बुधबार वीरगन्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरमा घरदैलो गरेका छन्।
घरदैलोका क्रममा स्थानीय बासिन्दाले उनलाई टीका र गम्छा लगाएर स्वागत गरेका थिए। सो क्रममा यादवले मतदातासँग भेटघाट गर्दै आफ्ना अघिल्ला कार्यकालमा गरेका कामका आधारमा मूल्याङ्कन गरेर मतदान गर्न आग्रह गरेका छन्।
मतदातासँगको संवादमा उनले पर्सा–१ मा सडक, विद्यालय, खेलमैदान तथा अन्य पूर्वाधार क्षेत्रमा भएका कामहरूको निरन्तरता आवश्यक रहेको बताएका छन्। आफू क्षेत्रका टोलटोल र स्थानीय समस्याबारे जानकार रहेको दाबी गर्दै आगामी दिनमा पनि विकासलाई प्राथमिकता दिने उनले बताए।
यादवले नेकपा (एमाले) का नीति तथा कार्यक्रमअनुसार राष्ट्रियता, आर्थिक विकास र रोजगारी सिर्जनामा काम गर्ने प्रतिबद्धता दोहोर्याएका छन्। साथै, निर्वाचित प्रतिनिधिले नियमित रूपमा जनतासँग सम्पर्कमा रहनुपर्नेमा उनले जोड दिएका छन्।






