वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले मंगलबार वीरगञ्ज महानगरपालिका–६ माइस्थान तथा वडा नं. ९ घण्टाघर पानमन्डी क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरेका छन्।
घरदैलोका क्रममा उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै औद्योगिक तथा व्यापारिक केन्द्रका रूपमा परिचित वीरगञ्जलाई सुशासनयुक्त र व्यवसायमैत्री सहरका रूपमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले मतदातालाई रास्वपाको चुनाव चिह्न ‘घण्टी’मा मतदान गरी परिवर्तनको यात्रामा सहभागी हुन आग्रह गरे।
चार दशक लामो परम्परागत राजनीतिक अभ्यासबाट जनजीवनमा अपेक्षित सुधार हुन नसकेको उल्लेख गर्दै कानुले अब नयाँ सोच, नयाँ संस्कार र परिणाममुखी नेतृत्व आवश्यक रहेको धारणा राखे। “पर्सा रणनीतिक दृष्टिले महत्वपूर्ण जिल्ला भए पनि विगतका जनप्रतिनिधिहरूको प्राथमिकतामा नपर्दा विकासको गति सुस्त रह्यो,” उनले भने, “व्यापार, पूर्वाधार र सडक व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न स्पष्ट योजना आवश्यक छ।”
निर्वाचित भएमा संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय स्थापित गरी योजनाबद्ध ढंगले विकास कार्यक्रम अघि बढाइने उनले बताए। पर्साको औद्योगिक सम्भावनालाई उच्च प्राथमिकतामा राख्दै दीर्घकालीन र ठोस विकास आयोजना अघि सार्ने उनको प्रतिबद्धता थियो।






