वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार अनिल रुङ्गटासँग जोडिएको उद्योग गतिविधि अहिले चुनावी बहसको प्रमुख विषय बनेको छ। वीरगञ्ज महानगरपालिका–३२ मा सञ्चालित जगदम्बा इन्टरप्राइजेजबाट निस्किने धुवाँ र फोहोरका कारण स्थानीय बासिन्दाको स्वास्थ्यमा गम्भीर असर परेको भन्दै व्यापक गुनासो उठेको हो।
स्थानीयका अनुसार फलाम गलाउने भट्टीबाट निस्किने बाक्लो धुवाँका कारण पारसवा, पलदार टोल, बदननगर, टेढा गाउँलगायतका बस्ती प्रभावित भएका छन्। बासिन्दाहरूले श्वासप्रश्वाससम्बन्धी समस्या, आँखामा जलन र दमका लक्षण बढेको बताएका छन्। “धुवाँले कहिलेकाहीँ दिउँसै अँध्यारो जस्तो हुन्छ, सास फेर्नै गाह्रो पर्छ,” एक स्थानीयले बताए।
वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाको तथ्यांक उद्धृत गर्दै स्थानीय अगुवाहरूले उद्योग आसपासका क्षेत्रमा टिबी र दमका बिरामीको संख्या उच्च रहेको दाबी गरेका छन्। विज्ञहरूले प्रदूषण नियन्त्रणका मापदण्ड पालना नभए मानव स्वास्थ्यसँगै वनस्पति र पशुपन्छीमा समेत दीर्घकालीन असर पर्ने चेतावनी दिएका छन्।
वातावरणीय असरको अर्को पाटो नदी प्रदूषणसँग जोडिएको छ। उद्योगबाट निस्किने फोहोर पानीका कारण श्रीसिया नदीका जलचर प्रभावित भएको आरोप स्थानीयको छ। हावा र पानी दुवै माध्यमबाट प्रदूषण फैलिएको उनीहरूको दाबी छ।
उद्योग सञ्चालनमा राजनीतिक संरक्षण रहेको आरोपसमेत उठाइएको छ। अनिल रुङ्गटा नेपाली कांग्रेससँग सम्बद्ध नेता मानिन्छन् र उनी पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निकट रहेको चर्चा छ। साथै, उद्योगपति विनोद चौधरीसँगको सम्बन्ध र आर्थिक सहयोगको विषयलाई लिएर पनि स्थानीय तहमा टीकाटिप्पणी भइरहेको छ। यद्यपि यी आरोपबारे सम्बन्धित पक्षबाट औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।
स्थानीयवासीले पटक–पटक उद्योग गेटअगाडि धर्ना तथा विरोध कार्यक्रम गर्दै आएका छन्। उनीहरू प्रदूषण मापन, वातावरणीय प्रभाव मूल्यांकन र कानुनी कारबाहीको माग गरिरहेका छन्। तर हालसम्म प्रभावकारी हस्तक्षेप नभएको गुनासो उनीहरूको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा उद्योग र जनस्वास्थ्यको मुद्दा पर्सा–१ मा चुनावी एजेन्डाको रूपमा उभिएको छ। विकास र रोजगारीको नाममा सञ्चालन भएका उद्योगहरूले वातावरणीय मापदण्ड कति पालना गरेका छन् भन्ने प्रश्न मतदातामाझ पेचिलो बन्दै गएको छ।






