बीरगंज । “चुनाव आचारसंहिता पालनाका कुराहरु” पारदर्शिता र स्वच्छ निर्वाचनको आवश्यकता एक गम्भीर अन्तरक्रिया हुने गर्दछ।
चुनाव केवल मतपत्रको खेल होइन, यो राष्ट्रको भविष्य कोर्ने प्रक्रिया हो। लोकतन्त्रको मेरुदण्ड नै स्वच्छ, पारदर्शी र मर्यादित निर्वाचन प्रणाली हो। यदि निर्वाचन प्रक्रिया नै दूषित भयो भने त्यसबाट निर्मित शासन व्यवस्था कति नै जनमुखी र उत्तरदायी होला भन्ने प्रश्न स्वत उठ्छ।
आज आवश्यकता छ हामी सबैमा जिम्मेवारी तथा कर्तव्यबोध जागृत होस्। प्रशासन, संचार माध्यम, राजनीतिक दल, जननेता, कर्मचारी, सुरक्षा निकाय र सर्वसाधारण नागरिक सबैको भूमिका उत्तिकै महत्वपूर्ण छ। तर प्रशासन, सञ्चारकर्मी तथा कर्मचारीहरुको जवाफदेहिता र नैतिक जिम्मेवारी आम नागरिक भन्दा अझ बढी हुन्छ। किनकि उनीहरू नै प्रणालीका संरक्षक हुन्।
अब समय आएको छ हामी सबैले एक पटक आफ्नो माटोलाई स्पर्श गरौं, आत्मालाई प्रश्न गरौं “हामी को हौं?” हामी नेपाली हौं। यो देश हाम्रो हो। यदि देश नै कमजोर भयो भने हाम्रो अस्तित्व कहाँ रहन्छ? नेपाली हामी रहन्छौं कहाँ नेपाल नै नरहे ।
नेपाल जर्जर बन्दै गएको छ, युवाहरु निरन्तर पलायन भइरहेका छन्। गाउँ रित्तिँदै छन्, शहर असन्तुलित हुँदैछन्। अब पनि नसोच्ने हो भने कहिले सोच्ने?
दुई दिनसम्म चलेको जेन जेड आन्दोलनको क्रममा शहिद र घाइते भएका युवाहरुको पीडा अझै ताजा छ। ती परिवारहरुको रोदन, विलाप, विछोड र असह्य पीडा शब्दमा वर्णन गर्न सकिँदैन। त्यो दृश्य केवल तत्कालीन क्षणको दर्द थिएन, त्यो भविष्य सम्म पिरोलिरहने घाउ हो।
लेखक त्यो आन्दोलनमा प्रत्यक्षदर्शीका रुपमा उपस्थित रहँदा, आन्दोलन स्थलदेखि मृतकका परिवार, घाइते युवाहरु र राष्ट्रका ऐतिहासिक धरोहरहरु, व्यक्तिगत सम्पत्ति ध्वस्त भएका, बलिरहेको पनि देखियो नेतृत्वकर्ता सँग सहजीकरण गर्ने प्रयास तथा सानो तिनो सहयोग पुर्याउने प्रयास गर्दै हिँडेको थिए । आफ्नो क्षमताले भ्याए सम्म सानो तिनो सेवा कार्यमा संलग्न रहेको थिए, त्यस बखत एउटा कुरा प्रस्ट देखियो युवाहरुमा आक्रोश मात्र होइन, परिवर्तनको तिर्खा छ।
तर आज जब निर्वाचनको माहोल सुरु हुन्छ, त्यही पुराना, सडेगलेका र दुर्गन्धित राजनीतिक अनुहारहरु पुन नयाँ आवरणसहित मैदानमा देखिन्छन्। परिवर्तनको नारा दिनेहरु कहाँ हराए? ती गुरुङ, ती ढुंगाना र उनका समूहतर्फको ऊर्जा अहिले किन मौन छ?
यो यक्ष प्रश्न हो खोई त परिवर्तन?
निर्वाचन आयोगले तोकेको खर्चको मापदण्ड केही लाखको सीमाभित्र चुनाव लड्ने संस्कार हामीले विकास गर्न सकेका छौं त? व्यवहारमा करोडौंको खेल हुन्छ। विगतमा पनि भएको थियो, भविष्यमा पनि हुने संकेत प्रष्ट देखिन्छ। यस्तो अवस्थामा साधारण, इमानदार र केही गर्न चाहने व्यक्तिले चुनाव लड्नु लगभग असम्भव जस्तै बन्दै गएको छ। पहुँच, धनबल र बाहुबल बिना चुनाव जित्नु फलामको च्युरा चपाउनु जत्तिकै कठिन भएको छ।
जब करोडौं खर्च गरेर चुनाव जितिन्छ, त्यसपछि असुलउपर गर्ने मानसिकता जन्मनु स्वाभाविक हुन्छ। संसद र मन्त्रालय सेवा केन्द्र होइन, लगानी फिर्ता गर्ने थलो बन्ने खतरा बढ्छ। कसले आफ्नो घर उद्योग बेचेर निष्काम भावले देशको सेवा गर्छ?
यसैले भ्रष्टाचार, बेरुजु र अनियमितताको पुरानो हिसाब अझै खुला छ। राजनीतिक दलहरुले आत्मसमीक्षा गरेका छन् त?
पुराना गल्तीहरु सच्याएका छन् त?
विशेष गरी मधेशका आठ जिल्ला अत्यन्त संवेदनशील क्षेत्रका रूपमा चिनिन्छन्। खुला सिमाना, विदेशी चलखेल, रोटी–बेटी सम्बन्ध, रोजी–रोटीको निर्भरता, सत्ता र शक्तिको अभ्यास यी सबैले चुनावलाई अझ जटिल बनाउँछन्। यहाँ केवल मतको राजनीति हुँदैन, यहाँ भू-राजनीतिक चासो समेत मिसिन्छ।
अब प्रश्न उठ्छ के हामी सुध्रिएका छौं?
के हामीमा चेतना जागेको छ?
के हामी आफ्नो सोच र व्यवस्था परिवर्तन गर्न तयार छौं?
यी प्रश्नहरूको उत्तर अझै अनुत्तरित छन्। तर निराश हुने ठाउँ छैन। आशा नै परिवर्तनको पहिलो आधार हो। सकारात्मक सोच, सचेत मतदाता, उत्तरदायी प्रशासन र निडर सञ्चार माध्यम भए भने सुधार असम्भव होइन।
वर्षौंदेखि प्रयोगशाला जस्तै प्रयोग हुँदै आएका हामी जनता अब बलिको बोका बन्ने कि निर्णायक शक्ति बन्ने? खास गरी विगत केही वर्ष देखि बीरगंज त वरिपरिका नेताहरुको भकुन्डो खेल्ने रंगशाला भकुन्डो मैदान बनेको छ, यसको दोहन गरेर आफ्नो रोटी सेक्ने ठुलो चलखेल बीरगंज बाट नै हुने गरेको छ। देश र नेपालको मुख्य द्वार बीरगंज अति दयनीय र मार्मिक अवस्था बाट गुजरी रहेको छ।
चुनावलाई स्वच्छ, मर्यादित र पारदर्शी बनाउन सबै भन्दा ठूलो भूमिका मतदाता कै हुन्छ। पैसाको लोभ, जातीय धार्मिक उक्साहट, गलत प्रचार र भ्रमबाट टाढा रहन सके मात्र लोकतन्त्र सुदृढ हुन्छ।
अन्ततः, परिवर्तन अरुले ल्याउने होइन हामीले ल्याउने हो।
देश बचाउने जिम्मा कुनै एक दल, एक नेता वा एक समूहको मात्र होइन, ३ करोड नेपालीको साझा दायित्व हो। अब धेरै भइसक्यो। अब चेतना जागोस्। अब चुनाव स्वच्छ बनोस्। अब व्यवस्था उत्तरदायी बनोस्। अब नेपाल बलियो बनोस्।
सबैलाई चेतना भया!
जसपाल सिंह
श्रीपुर बीरगंज -९८५५०२६३३६







सत श्री अकाल!सर हृदय छुने लेख! यहाँ त दल र तिनका नीतिनिर्माता तदर्थवादमा विश्वास गर्दछन सथै तिनको आन्दोलन देखि व्यक्तित्वसम्म कुनै न कुनै राष्ट्र वा शक्तिबाट प्रायोजित हुन्छ।हामी सुनको कचौरामा नून भिक्षा माग्ने याचकको औकातमा छौं ।सबलाइ मार्गदर्शन दिनुभएकोमा आभार।