वीरगञ्ज । वीरगञ्ज–१० आदर्शनगर स्थित लिटिल स्टेप्स मोन्टेसरी स्कूलको ८औँ वार्षिक उत्सव–२०८२ “सपना” शीर्षकमा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम आदर्शनगरस्थित जैन तेरापथ भवनमा आयोजना गरिएको थियो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पानसमा दीप प्रज्वलन गरी गरेका थिए। कार्यक्रममा विद्यालयका विभागीय प्रमुख (एचओडी) अमित सर्राफले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयको शैक्षिक गतिविधि, उपलब्धि तथा भावी योजनाबारे जानकारी गराएका थिए।
विशिष्ट अतिथिका रूपमा मधेश विश्वविद्यालयका उपकुलपति तथा वीरगञ्ज पब्लिक कलेजका संस्थापक/निर्देशक डाक्टर दीपक शाक्यको उपस्थिति रहेको थियो। साथै वीरगञ्ज महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख आनन्द लमिछाने, रुङ्गटा वेलफेयर सोसाइटीका कोषाध्यक्ष तथा रुङ्गटा समूहका निर्देशक सुरेश कुमार रुङ्गटा, ग्रीन सिटी वीरगञ्जका अध्यक्ष प्रकाश खेतान, सञ्चारकर्मी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
विद्यालयका निर्देशकहरू अञ्जली अग्रवाल, तुषार अग्रवाल, रोहित बजाज र अनमोल शाहले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अभिभावक, शिक्षक तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका थिए।
कार्यक्रममा विद्यालयमा अध्ययनरत बालबालिकाहरूले नृत्य, गीत, नाटक तथा विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। “सपना” विषयवस्तुमा आधारित ती आकर्षक प्रस्तुतिहरूले उपस्थित अतिथि तथा अभिभावकहरूको मन लोभ्याएको थियो। बालबालिकाहरूको आत्मविश्वास, सिर्जनशीलता र अनुशासनले सबैको ध्यान आकर्षित गरेको थियो।
प्रमुख अतिथि मेयर सिंहले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै बालबालिकाको सर्वाङ्गीण विकासमा पुर्याएको योगदानको प्रशंसा गरे। उनले शिक्षा क्षेत्रको सुदृढीकरणका लागि महानगरपालिका सदैव सहकार्य र सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गरे।
कार्यक्रम उल्लासमय र सभ्य वातावरणमा सम्पन्न भएको विद्यालय प्रशासनले जनाएको छ।








