Categories धर्म/संस्कृति

भोजपुरी प्रतिष्ठान, वीरगंजद्वारा “फगुआ के रंग लोक गीत के संग” कार्यक्रम सम्पन्न

वीरगंज । भोजपुरी प्रतिष्ठान, वीरगंजको आयोजनामा “फगुआ के रंग लोक गीत के संग” शीर्षकमा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। आज शनिबार कन्या माध्यमिक विद्यालयको प्रांगणमा कार्यक्रम आयोजना गरिएको हो।

प्रतिष्ठानकी अध्यक्ष अनिता साहको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सल्लाहकार गोपाल अश्क र दिनेश गुप्ता, अतिथिहरू विनय राज गौतम, छोटेलाल साह, सुभाष बैठा, ललन साह लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी अतिथिहरूले होली पर्वको सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्वबारे चर्चा गर्दै आपसी सद्भाव, भाइचारा र सांस्कृतिक एकताको सन्देश दिनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा गायन मण्डलीमा सोधा यादव, रामबालक सर्राफ सम्भु गुप्ता तथा छोटु राजले फगुआ तथा होलीसँग सम्बन्धित परम्परागत लोकगीत प्रस्तुत गरेका थिए। वहाँहरुको प्रस्तुतीले उपस्थित दर्शक तथा श्रोताहरूको मन जित्नुका साथै मौलिक भोजपुरी कला र संस्कृतिको संरक्षणमा महत्वपूर्ण सन्देश प्रवाह गरेको थियो।

कार्यक्रम सञ्चालन अनिष कान्त कुश्वाहाले गरेका थिए। कार्यक्रममा होली पर्व केवल रंगहरूको उत्सव मात्र नभई समाजलाई एकताबद्ध गर्ने, पुराना मनमुटाव बिर्सेर नयाँ सम्बन्ध सुदृढ बनाउने अवसरका रूपमा रहेको चर्चा गरिएको थियो।

वीरगंज महानगरपालिकाद्वारा गठित भोजपुरी प्रतिष्ठानले विगतदेखि नै भोजपुरी भाषा, साहित्य, कला तथा परम्परागत संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। यस्ता कार्यक्रममार्फत नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र पहिचानप्रति सचेत गराउने तथा सांस्कृतिक धरोहरलाई जीवन्त राख्ने प्रयास भइरहेको प्रतिष्ठानले जनाएको छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *