वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टी का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फको समर्थनमा शनिबार मोटरसाइकल र्याली निकालिएको छ। जनमत पार्टी निकट युवा दस्ता र जेन्जि जनमत संघको आयोजनामा सम्पन्न र्यालीमा सयौं युवाहरू सहभागी भएको आयोजकले जनाएको छ।
र्याली वीरगञ्जका विभिन्न स्थान हुँदै क्षेत्रअन्तर्गतका वडाहरूका प्रमुख चोक तथा बस्तीहरू परिक्रमा गरेको थियो। सहभागीहरूले पार्टीको झण्डा र ब्यानरसहित नाराबाजी गर्दै उम्मेदवार सरार्फप्रति समर्थन जनाएका थिए।
आयोजक पक्षले युवाहरूको सहभागिताले क्षेत्र नं. १ मा पार्टीप्रति आकर्षण बढेको दाबी गरेको छ। सहभागी युवाहरूले रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
उम्मेदवार सरार्फले र्यालीमा सहभागी युवाहरूलाई धन्यवाद दिँदै चुनावी अभियानलाई निरन्तरता दिने बताएका छन्। उनले पर्सा–१ को विकासका लागि योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
पर्सा–१ मा विभिन्न राजनीतिक दलहरूले घरदैलो तथा जनसम्पर्क कार्यक्रमलाई तीव्रता दिइरहेका छन्। निर्वाचन नजिकिँदै जाँदा चुनावी गतिविधि बढ्दै गएको छ।






