वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–११ श्रीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन परिचालन समिति अध्यक्ष त्रिनेत्र गिरिको अध्यक्षतामा घरदैलो कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि पन्त सहभागी भई मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए।
घरदैलोका क्रममा पन्तले घरघर पुगेर स्थानीयवासीका समस्या, अपेक्षा र सुझाव सुनेका थिए। उनले शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनलाई आफ्नो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। राजनीति जनताको सेवा र परिवर्तनका लागि हुनुपर्ने उनको भनाइ थियो।
त्यसैगरी वीरगञ्ज महानगरपालिका–१६ अन्तर्गत नगवा, इनर्वा र फुलवारी टोल क्षेत्रमा पनि घरदैलो कार्यक्रम गरिएको छ। उक्त कार्यक्रममा स्थानीयवासीको सहभागिता रहेको आयोजकले जनाएको छ। घरदैलोका क्रममा खानेपानी, सडक स्तरोन्नति, नाला व्यवस्थापन तथा युवाका लागि रोजगारी सिर्जनाजस्ता विषय उठाइएको थियो।
उम्मेदवार पन्तले स्थानीयस्तरका समस्या समाधानका लागि कार्ययोजना तयार गर्ने र जनतासँग निरन्तर संवादमा रहने बताए। उनले विगतमा अधुरा रहेका कामलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाए।
घरदैलो अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने रास्वपाले जनाएको छ। निर्वाचन नजिकिँदै जाँदा क्षेत्र नम्बर–१ मा विभिन्न दलका उम्मेदवारले प्रचारप्रसार तीव्र बनाएका छन्।






