वीरगञ्ज । पर्सा विद्युतिय प्राविधिक संघ, वीरगञ्जको आयोजनामा होली मिलन समारोह सोमबार भव्य रूपमा सम्पन्न भएको छ। ब्राइट पब्लिक स्कुलको सभाहलमा आयोजित कार्यक्रममा पर्सा जिल्लाभर विद्युतिय तथा प्राविधिक क्षेत्रमा कार्यरत प्राविधिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
रंग र सद्भावको पर्व होलीको अवसर पारेर आयोजित कार्यक्रममा वक्ताहरूले एकता, सहकार्य र पेशागत मर्यादालाई सुदृढ बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए। “एकता नै बल हो” भन्ने सन्देशलाई आत्मसात गर्दै प्राविधिकहरूबीच आपसी समन्वय, अनुभव आदानप्रदान र संस्थागत सुदृढीकरण अपरिहार्य रहेको धारणा व्यक्त गरियो। साथै, प्राविधिक क्षेत्रको हकहित संरक्षण, क्षमता अभिवृद्धि तथा नयाँ पुस्तालाई प्राविधिक शिक्षातर्फ आकर्षित गर्न संघले प्रभावकारी भूमिका खेल्नुपर्नेमा वक्ताहरूले सुझाव दिए।
कार्यक्रममा होली विशेष भोजपुरी लोकगीतहरूको सांगीतिक प्रस्तुति राखिएको थियो, जसले सहभागीहरूलाई उल्लासमय वातावरणमा रमाउन अवसर प्रदान गरेको थियो।
राजेन्द्र शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा रामदेव जीको उपस्थिति रहेको थियो। त्यसैगरी, विशिष्ट अतिथिहरुमा ब्राइट पब्लिक स्कुलका संस्थापक अध्यक्ष मुकेश गुप्ता र सोधा यादव सहभागी थिए।
कार्यक्रम व्यवस्थापनमा प्रमोद चौरसिया, रामबालक सर्राफ र सुदामा वर्णवालले महत्त्वपूर्ण योगदान पुर्याएका थिए। आयोजकले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण प्राविधिक, अतिथि तथा सहयोगीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक तथा एकतामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।






