काठमाडौं । रवीन्द्र मिश्रले दलीय राजनीतिबाट तत्कालका लागि विदा लिने घोषणा गरेका छन्। उनले फागुन २३ गते फेसबुकमा एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको जानकारी दिएका हुन्।
मिश्रले देशभरि राजसंस्था पुनर्स्थापनाको पक्षमा जनमत व्यापक भए पनि त्यसलाई संगठित र प्रभावकारी रूपमा उपयोग गर्न पार्टी बारम्बार असफल भएको स्वीकार गरेका छन्। पार्टीका वरिष्ठ उपाध्यक्षको हैसियतले त्यसका लागि आफू पनि जिम्मेवार रहेको उनले बताएका छन्।
उनले विचारभन्दा माथि देशको हितलाई राख्दै बदलिँदो भूराजनीति र आन्तरिक परिस्थितिलाई ध्यानमा राखेर देश बचाउन र बनाउन नयाँ समझदारी र संरचनागत पुनरावलोकन आवश्यक रहेको उल्लेख गरेका छन्।
मिश्रले राजसंस्था पुनर्स्थापना र सुशासनका विषयमा आफ्ना अडान यथावत रहने बताउँदै अब केही समय गैरदलीय (स्वतन्त्र) रूपमा आफ्ना विचारहरू सार्वजनिक गर्दै जाने बताएका छन्।
करिब ९ वर्ष लामो राजनीतिक यात्रामा आफूले इमानदारीपूर्वक राष्ट्रिय रूपान्तरणका लागि प्रयास गरेको उनले उल्लेख गरेका छन्। साथै उनले निर्वाचनमा सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई तथा शुभकामना पनि दिएका छन्।
प्रेस विज्ञप्तिको अन्त्यमा उनले देश र जनताको हितलाई सबैभन्दा माथि राखेर काम गर्ने प्रतिबद्धता दोहोर्याउँदै सबैप्रति आभार व्यक्त गरेका छन्।






