वीरगंज । मधेस प्रदेशमा प्रदेश सांसद पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा होमिएका चारमध्ये तीन जना पराजित भएका छन्। तीमध्ये पूर्व मुख्यमन्त्री र पूर्व मन्त्रीसमेतको जमानत जफत हुँदा एक जना मात्रै विजयी हुन सफल भएका छन्।
पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका मध्ये नेकपा माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका रहबर अंसारी मात्र विजयी भएका छन्। बारा क्षेत्र नं. ४ बाट उनले ४१ हजार २ सय मत प्राप्त गर्दै जित हात पारेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ भने ११ हजार ६३९ मतमै सीमित भए।
तर अन्य तीन उम्मेदवारको नतिजा भने उल्टो रह्यो।
धनुषा क्षेत्र नं. १ मा नेकपा एमालेबाट चुनाव लडेका निवर्तमान सभामुख रामचन्द्र मण्डल तेस्रो स्थानमा खुम्चिए। उनले ९ हजार ३१५ मत पाए। उक्त क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका मातृका प्रसाद यादव १० हजार ४०३ मतसहित अग्रस्थानमा रहे भने कांग्रेसका रामपल्टन साह ९ हजार ५०२ मतसहित दोस्रो स्थानमा रहे।
सप्तरी क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका मधेस प्रदेशका पूर्व मुख्यमन्त्री सतिश कुमार सिंहको त झन् जमानत नै जफत भयो। उक्त क्षेत्रमा रास्वपाका रामजी यादव २८ हजार ४०४ मतसहित विजयी हुँदा सिंह चौथो स्थानमा खुम्चिए। उनले जम्मा ३ हजार ५५७ मत मात्र पाए, जुन कुल सदर मतको ५.६७ प्रतिशत मात्रै हो। कानुनी व्यवस्था अनुसार कुल सदर मतको १० प्रतिशत नपुगेमा जमानत जफत हुने प्रावधान छ। यस क्षेत्रमा ६२ हजार ७८३ सदर मत खसेको थियो।
यस्तै, महोत्तरी क्षेत्र नं. ४ मा चुनाव लडेका नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता तथा पूर्व अर्थमन्त्री एवं गृहमन्त्री भरतप्रसाद साह को पनि जमानत जफत भएको छ। उक्त क्षेत्रमा रास्वपाकी गौरी कुमारी ३० हजार १३२ मतसहित विजयी हुँदा साह पाँचौँ स्थानमा सीमित भए। उनले ५ हजार ३३६ मत मात्र पाए, जुन कुल सदर मतको १० प्रतिशत कटाउन पर्याप्त भएन। सो क्षेत्रमा ५९ हजार ५४५ सदर मत खसेको थियो।
यसपटकको निर्वाचन परिणामले मधेसमा पुराना प्रभावशाली नेताहरूलाई मतदाताले कडा सन्देश दिएको विश्लेषण गरिएको छ। नयाँ शक्ति र नयाँ अनुहारतर्फ मतदाताको झुकाव बढेको संकेत पनि यस नतिजाले दिएको देखिन्छ।






