झापा । पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा नेपाली काँग्रेस झापाले दुई जना जिल्ला सदस्यसहित पाँच जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाहीका लागि सिफारिस गरेको गरेको छ ।
जिल्ला सभापति देउकुमार थेवेको अध्यक्षतामा सम्पन्न बैठकपछि पार्टी सचिव कृष्ण हुमागाईंले बुधबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन् ।
काँग्रेस झापा सचिव हुमागाईले जारी गरेको विज्ञप्तिमा जिल्ला सदस्य ठमनाथ नेपाल र मुना भट्टराई तथा क्षेत्रीय प्रतिनिधि शम्भु खड्का ,टेकनारायण संग्रौला र दिपिन्द्र थापालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाहीका लागि केन्द्रीय अनुशासन समितिमा सिफारिस गरिएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा उनीहरूले केही समयअघिदेखि पार्टीहित विपरीत गतिविधि गर्दै आएको र प्रतिनिधिसभा निर्वाचन–२०८२ मा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गर्दै विपक्षी उम्मेदवारको पक्षमा प्रचार–प्रसार गरेको पाइएपछि निष्कासनको निर्णय गरिएको जनाइएको छ ।






