Categories समाचार

नगवाका युवाद्वारा नवनिर्वाचित सांसद पन्तलाई स्वागत, कामको सूचीसहित डायरी हस्तान्तरण

Advertisement

वीरगंज । हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हरि पन्तलाई वीरगंज–१६ नगवाका युवाहरूले भव्य स्वागत गरेका छन्। स्वागत कार्यक्रमको अवसरमा स्थानीय युवाहरूले क्षेत्रको विकासका लागि गर्नुपर्ने कामहरूको विस्तृत सूची समेटिएको डायरी हस्तान्तरण गर्दै ती योजनाहरू समयमै पूरा हुने अपेक्षा व्यक्त गरेका छन्।

स्थानीय युवा चन्दन प्रजापति लगायतको टोलीले नवनिर्वाचित सांसद पन्तलाई सम्मान गर्दै नगवा क्षेत्रका दीर्घकालीन समस्या र विकाससँग सम्बन्धित प्राथमिकताका कामहरूको विवरण बुझाएका हुन्। युवाहरूले विशेषगरी बेरोजगारी समस्या समाधान, भौतिक पूर्वाधार विकास तथा शिक्षा क्षेत्रको सुधारलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।

Advertisement

युवाहरूले बुझाएको सूचीमा बेरोजगार युवाहरूका लागि रोजगारी सिर्जना गर्ने कार्यक्रम सञ्चालन गर्ने, लामो समयदेखि अधुरो रहेको नगवा पोखरी संरचनाको निर्माण कार्य सम्पन्न गर्ने, नगवा चौकदेखि भित्री गाउँसम्म जाने मुख्य सडक निर्माण गर्ने, नगवा धर्मशालामा बाँकी रहेका निर्माण कार्य पूरा गर्ने तथा नगवा विद्यालयका अधुरा संरचनाहरू निर्माण गरी पठनपाठनको गुणस्तर सुधार गर्ने माग समेटिएको छ।

Advertisement

कार्यक्रममा युवाहरूले सांसद पन्तको कार्यकालमा नगवा क्षेत्रका दीर्घकालीन समस्या समाधान भई समग्र विकासले गति लिने विश्वास व्यक्त गरेका थिए। उनीहरूले स्थानीय आवश्यकता र जनताको अपेक्षालाई ध्यानमा राखेर विकासका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेका छन्।

नवनिर्वाचित सांसद पन्तले पनि युवाहरूले उठाएका मागहरूलाई गम्भीरतापूर्वक लिँदै सम्भव भएसम्म चरणबद्ध रूपमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *