काठमाडौँ । नेपालमा पछिल्लो समय विराटनगर, चितवन तथा काठमाडौँका केही पोल्ट्री फार्ममा लो फ्याथोजेनिक एभियन इन्फ्लुएन्जा (बर्डफ्लु) को सङ्क्रमण देखिएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको पशुसेवा विभागले आइतबार सूचना जारी गर्दै ती स्थानका पोल्ट्री फार्मका कुखुरामा लो फ्याथोजेनिक एभियन इन्फ्लुएन्जा पुष्टि भएको जनाएको छ।
पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. मनोजकुमार शाहीका अनुसार यो बर्डफ्लुकै एक अवस्था हो, जसमा कुखुराको मर्ने दर कम हुन्छ र मानिसमा सर्दैन।
विभागले जारी गरेको सूचनामा विगतको तुलनामा कुखुराको मर्ने दर केही बढी देखिएकाले सतर्क रहन आवश्यक रहेको उल्लेख गरिएको छ। फ्लुको सङ्क्रमण देखिएको विभागले पुष्टि गरेको छ।
नेपालका विभिन्न स्थानमा लो फ्याथोजेनिक एभियन इन्फ्लुएन्जाको सङ्क्रमण देखिएपछि पशुसेवा विभागले किसानलाई सतर्कता अपनाउन अनुरोध गरेको छ। विभागले सूचना जारी गर्दै विभिन्न स्थानमा यस्तो सङ्क्रमण देखिएको जनाएको छ।
विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार विराटनगर, चितवन तथा काठमाडौँका कुखुरा फार्ममा लो फ्याथोजेनिक एभियन इन्फ्लुएन्जाको सङ्क्रमण देखिएको छ। ती स्थानका व्यावसायिक तथा घरपालुवा पन्छीमा पनि सङ्क्रमण देखिएकाले किसानलाई सचेत रहन विभागले अनुरोध गरेको छ।
उनका अनुसार विराटनगर, चितवन र काठमाडौँ आसपासका कम्तीमा ८०–९० फार्ममा सङ्क्रमण देखिएको छ। यसले मानिसलाई असर नगर्ने तर कुखुरा मर्ने दर विगतभन्दा केही बढी देखिएकाले किसानलाई सतर्क रहन भनिएको छ।
यो रोग विशेष गरी सङ्क्रमित कुखुरा तथा पन्छीसँग प्रत्यक्ष सम्पर्क, सङ्क्रमित पन्छी तथा पन्छीजन्य सामग्रीको ओसारपसार, दाना तथा कुखुरा ढुवानी गर्ने सवारीसाधन, साथै श्वासप्रश्वासको माध्यमबाट सजिलै सर्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन आवश्यक रहेको विभागले जनाएको छ।
पछिल्लो समय यो रोगका कारण कुखुरा मर्न थालेको र सङ्क्रमण पनि बढेकाले सचेत हुन आवश्यक रहेको विभागको भनाइ छ। विभागले कुखुराको फार्ममा अनावश्यक सवारीसाधन र आगन्तुक नलैजान, कुखुरा वा दाना बोक्ने गाडीलाई फार्म परिसरमा प्रवेश नगराउन र प्रवेश गराउनै परेमा निसङ्क्रमण गरेर मात्र भित्र पसाउन आग्रह गरेको छ।
खोरमा जाँदा फरक–फरक बुट र एप्रोन प्रयोग गर्न, फार्ममा कुकुर, बिरालो र मुसो छिर्न नदिने व्यवस्था गर्न, मरेको कुखुरालाई तुरुन्तै गहिरो खाडलमा पुर्न र रोग सर्न सक्ने भएकाले एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा सकेसम्म नजान पनि विभागले सुझाव दिएको छ।
एक पटक प्रयोग भएको कागजको अन्डाको क्रेट पुनः प्रयोग नगर्न, लो फ्याथोजेनिक एभियन इन्फ्लुएन्जाविरुद्ध गुणस्तरीय खोप लगाउन र किसानले अनिवार्य बिमा गर्न पनि विभागले आग्रह गरेको छ।
एकै पटक धेरै कुखुरा बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशुसेवा कार्यालयमा खबर गर्न विभागले किसानलाई अनुरोध गरेको छ।






