Categories स्वास्थ्य

वीरगञ्जमा चिकित्सकीय लापरबाहीः डा. गुप्तालाई वरिष्ठ विशेषज्ञको निगरानीमा मात्र उपचार गर्ने अनुमति

Advertisement

वीरगञ्ज । वीरगञ्जमा रहेको प्रभु हस्पिटल एन्ड रिसर्च सेन्टर मा उपचारका क्रममा भएको चिकित्सकीय लापरबाहीका कारण एक बिरामीको मृत्यु भएको घटनामा नेपाल मेडिकल काउन्सिल ले सम्बन्धित चिकित्सकमाथि कारबाही गरेको छ।

काउन्सिलले अस्पतालका सञ्चालक तथा चिकित्सक डा. मनोजकुमार गुप्ता लाई ६ महिनासम्म वरिष्ठ विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा मात्र उपचार सेवा दिन पाउने गरी अनुशासनात्मक कारबाही गरेको जनाएको छ। फागुन ११ र १२ गते बसेको काउन्सिलको पूर्ण बैठकले घटनासम्बन्धी कागजात, शल्यक्रियामा संलग्न चिकित्सकहरूको बयान तथा विज्ञ चिकित्सकहरूको राय अध्ययन गरेपछि यस्तो निर्णय गरिएको काउन्सिलका रजिस्ट्रार डा. सतिशकुमार देव ले जानकारी दिए।

Advertisement

काउन्सिलका अनुसार बाराका ३७ वर्षीय सुरेश साह कानु पित्तथैलीसम्बन्धी समस्या लिएर २०८० कात्तिक १४ गते उक्त अस्पताल पुगेका थिए। तर आवश्यक परीक्षण र रोगको स्पष्ट पहिचान नगरी शल्यक्रिया गरिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ। पित्तथैली निकालिएको भन्दै प्रयोगशालामा पठाइएको भनिए पनि त्यससम्बन्धी आधिकारिक परीक्षण प्रतिवेदन बिरामीका परिवारलाई उपलब्ध नगराइएको आरोप छ।

Advertisement

शल्यक्रियापछि बिरामीको अवस्था थप जटिल बनेपछि उनलाई अर्को अस्पतालमा उपचारका लागि सारिएको थियो। त्यहाँ गरिएको परीक्षणबाट शरीरभित्र क्यान्सर फैलिएको तथ्य खुलेको चिकित्सकहरूले बताएका थिए। प्रारम्भिक उपचारका क्रममा आवश्यक परीक्षण र सावधानी नअपनाइएकाले बिरामीको अवस्था झन् बिग्रिएको निष्कर्ष चिकित्सकहरूको रहेको बताइएको छ।

स्वास्थ्य अवस्था निरन्तर जटिल बन्दै गएपछि सुरेश साह कानुको २०८१ साउन ३२ गते निधन भएको थियो। घटनापछि मृतकका आफन्तले न्यायको माग गर्दै २०८१ पुस २८ गते मेडिकल काउन्सिलमा उजुरी दर्ता गराएका थिए। सोही उजुरीका आधारमा काउन्सिलले छानबिन प्रक्रिया अघि बढाएको थियो।

छानबिनका क्रममा चिकित्सकीय लापरबाही देखिएको ठहर गर्दै काउन्सिलले अनुशासनात्मक कारबाही गरेको हो। स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा यस्ता घटनाले निजी स्वास्थ्य संस्थाको सेवा गुणस्तर र नियमन प्रणालीमाथि गम्भीर प्रश्न उठाएको भन्दै सरोकारवालाले प्रभावकारी अनुगमन र कडाइ आवश्यक रहेको बताएका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *