वासिङ्टन । ट्रम्प प्रशासनको आतङ्कवादविरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धको विषय र प्रक्रियाप्रति विमति राख्दै आफ्नो पदबाट राजीनामा दिएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत् जारी गरेको विज्ञप्तिमा राष्ट्रपति ट्रम्पलाई आफ्नो अडान परिवर्तन गर्न पनि आग्रह गरेका छन् ।
केन्द्रका निर्देशक केन्टले आफ्नो एक्स अकाउन्टमा पोस्ट गरेको पत्रमा इरान अमेरिकाका लागि तत्काल खतरा नभएको बताएका छन् ।
उनले ट्रम्प प्रशासनले इजरायल र उसको शक्तिशाली अमेरिकी लबीको दबाबमा यो युद्ध सुरु गरेको दाबी गरेका छन् ।
जो केन्टले आफ्नो पत्रमा भनेका छन्, ‘सन् २०२५ को जुनसम्ममा ट्रम्पले मध्यपूर्वमा युद्धले अमेरिकालाई हाम्रा देशभक्तहरूको बहुमूल्य जीवनबाट वञ्चित गरेको र हाम्रो राष्ट्रको सम्पत्ति र समृद्धिलाई कम गरेको कुरा बुझ्नुभएको छ ।’
केन्टले अगाडि भनेका छन्, ‘उच्च पदस्थ इजरायली अधिकारी र प्रभावशाली अमेरिकी पत्रकारहरूले ‘गलत सूचना’ फैलाएको र यसले ट्रम्पलाई आफ्नो ‘अमेरिका फस्र्ट’ प्लेटफर्मलाई कमजोर बनाएको पनि बताउनुभएको छ। पत्रमा अगाडि लेखिएको छ, “इरान अमेरिकाका लागि ठूलो खतरा छ भन्ने तपाइँलाई विश्वास दिलाउन यसको प्रयोग गरिएको थियो । यो झूट थियो।’
लामो समयदेखि ट्रम्पका समर्थक रहेका केन्ट गत वर्ष जुलाईदेखि अमेरिकी आतङ्कवादविरोधी केन्द्रको निर्देशकको रूपमा नियुक्त भएका थिए ।
यसअघि केन्ट अमेरिकी सेनासँग ११ पटक विदेशमा तैनाथ भइसकेका छन् । यसमा इराकमा अमेरिकी सैन्य विशेष बलको तैनाथी पनि समावेश छ।
अमेरिकी गुप्तचर निकाय सिआइएमा पनि काम गरेको अनुभवी केन्टले श्रीमतीको मृत्युपछि सरकारी जागिर छाडेका थिए ।






