वीरगंज । आजदेखि चैती छठ पर्व विधिवत् रूपमा सुरु भएको छ। चार दिनसम्म विभिन्न धार्मिक विधि र परम्परासहित मनाइने यो पर्व तराईका जिल्लाहरू पर्सा, बारा, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहटसहित नेपाल र भारतका विभिन्न स्थानहरूमा श्रद्धा र भक्तिभावका साथ आरम्भ भएको हो।
मानव जीवनमा सत्य, अहिंसा र सबै जीवप्रति सहानुभूति बढाउने सन्देश बोकेको यो पर्व सूर्य उपासनासँग सम्बन्धित एक अद्वितीय परम्परा मानिन्छ। विश्वमै विरलै पाइने यस्तो पर्व हो, जहाँ अस्ताउँदो र उदाउँदो दुवै सूर्यको पूजा गरिन्छ। पारिवारिक सुख, शान्ति, समृद्धि, स्वास्थ्य र मनोकामना पूरा होस् भन्ने कामनासहित श्रद्धालुहरू पोखरी, नदी, तलाउ तथा अन्य जलाशयमा भेला भई विधिपूर्वक पूजा-अर्चना गर्छन्।
चार दिने यस पर्वको पहिलो दिन ‘नहाय-खाय’ बाट सुरु हुन्छ, जसमा व्रतालुहरूले स्नान गरी शुद्ध भोजन ग्रहण गर्छन्। दोस्रो दिन ‘खर्ना’ मनाइन्छ, जहाँ दिनभरि निराहार व्रत बसेपछि साँझ छठ देवतालाई निम्तो दिँदै विशेष पूजा गरिन्छ र राति नुनबिनाको प्रसाद ग्रहण गरिन्छ।
तेस्रो दिन षष्ठीमा व्रतालुहरूले ठेकुवा, भुसवा, खजुरिया, पेरुकियालगायत विभिन्न पकवान र फलफूल तयारी गरी साँझ जलाशय किनारमा पुग्छन्। त्यहाँ अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्दै भक्ति र लोकगीतका साथ पूजा सम्पन्न गरिन्छ।
अन्तिम दिन बिहानै पुनः घाटमा पुगेर उदाउँदो सूर्यलाई अर्घ दिइन्छ र यससँगै चैती छठ पर्व सम्पन्न हुन्छ।
पौराणिक कथाअनुसार महाभारत मा द्रोपदीसहित पाण्डवहरूले अज्ञातवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको उल्लेख छ। त्यस्तै सूर्य पुराण अनुसार माता अनुसुइयाले सर्वप्रथम छठ व्रत गरी अटल सौभाग्य प्राप्त गरेपछि यो परम्परा सुरु भएको विश्वास गरिन्छ।






